काठमाडौं, २२ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पुनर्गठित मन्त्रिमण्डलमा भक्तपुरका युवा नेता महेश बस्नेतको नाम गृहमन्त्रीमा सिफारिस गरेको व्यापक हल्ला चलेको थियो । धेरै जसो अनलाइन मिडियाले त हिजै (शुक्रबार) नेता बस्नेतले गृहमन्त्रीमा सपथ खाने समेत लेख्न भ्याइसकेका थिए तर बस्नेतलाई गृहमन्त्री बनाउने प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुष्टि जनाएकी छिन् ।
प्रधानमन्त्री ओलीले नेता बस्नेतलाई रामबहादुर थापा बादलको स्थानमा गृहमन्त्री बनाउन चाहेपछि राष्ट्रपतिले असहमती जनाएकी हुन् । पछिल्लो समयमा नेपालको राजनीतिमा भारतीयको प्रभाव देखिए पनि चिनको दबाबमा राष्ट्रपतिले महेशको नाम गृहमन्त्रीका रुपमा आए सपथसम्म गराउन आफू तयार नहुने जनाउ प्रधानमन्त्रीलाई दिएको श्रोतको दाबी छ ।
नेता बस्नेतका केहि आन्तरिक कनेक्सनका कारण चाइनिज पक्ष असन्तुष्ट रहेको पनि श्रोतले बताएको छ । एमाले भित्रैका बालुवाटार ग्याङ्गले पनि बस्नेतलाई गृहमन्त्री दिँदा ठीक नहुने सुझाव प्रधानमन्त्रीलाई दिएको स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार प्रधानमन्त्रीले बस्नेतलाई मिलेको भए शुक्रबार नै गृहमन्त्रीका रुपमा नियुक्त गर्ने तयारी गरेका थिए तर एमाले भित्रैको विवाद र राष्ट्रपतिको समेत अनिच्छाले महेशको गृहमन्त्री बन्ने योजनामा धक्का लागेको स्रोत बताउँछ ।
निवर्तमान गृहमन्त्री बादलले मन्त्रिपरिषद् पुनर्गठनलाई लिएर प्रधानमन्त्रीलाई भेटेर नै आपत्ति जनाइसकेका छन् । शुक्रबार प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरे पनि गृह र रक्षासहित महत्वपूर्ण सातवटा मन्त्रालय आफैँसँग राखेका छन् । माधव नेपाल पक्षका केही नेताहरुसँग वार्ता जारी रहेको तथा माओवादीबाट आएका नेताहरुको मुद्दा पनि सर्वोच्चले टुंग्याउन सक्ने सम्भावनाबीच ओलीले सातवटा मन्त्रालय आफैँसँग राखेको बताइएको छ ।
असन्तुष्ट माधव पक्षका दोश्रो पुस्ताका नेताहरु पछिल्लो समय एकताको प्रयासमा लागिपरेका थिए। विशेष गरि युवा नेता योगेश भट्टराइलाई चाइनिज पक्षले गृहमन्त्रीमा योग्य ठहराएको र त्यसो भएको खण्डमा बहुसंख्यक माधव पक्षका नेताहरु ओली क्याम्पमै फर्किने ओलीको रिडिङ्ग रहेको श्रोतले बतायो । ओली पक्ष एमाले भित्रै विरोध नभए योगेश भट्टराई गृहमन्त्रि बन्ने प्रवल सम्भावनामा रहेको बताइन्छ ।
यदि योगेश भट्टराईलाई गृहमन्त्रीमा नियुक्त गर्न नसक्ने परिस्थितिमा प्रदिप ज्ञवालीलाई भएपनि गृहमन्त्रि दिने तयारीमा ओली रहेको श्रोतको दाबी छ । प्रधानमन्त्री ओलीलाई कठिन परिस्थितिहरुमा निरन्तर साथ दिदै आएका महेश बस्नेतको गृहमन्त्री बन्ने सपना भने कुनै हालतमा पुरा नहुने देखिन्छ । जसपा नै फुटाएर राजेन्द्र महतो र महन्थ ठाकुरलाई ओली समर्थनमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका नेता बस्नेत एकपटक फेरी जिल्ल परेका छन् ।
यसअघि गृहमन्त्री बनेका रामबहादुर थापा बादललाई सर्बोच्च अदालतले नियुक्त बदर गरिदिएपछि गुहमन्त्रालय मन्त्री विहीन छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै गृहको पनि जिम्मेवारी लिएका छन् । गृह मन्त्रालय प्रधानमन्त्रीपछि सबैभन्दा शक्तिशाली मन्त्रालय मानिन्छ । प्रधानमन्त्री ओलीले कात्तिक र मंसिरमा हुने विघटित संसदको चुनावलाई ध्यानमा राखेर बस्नेतलाई गृहमन्त्रीमा सिफारिस गरेको बताइएको छ ।
बस्नेत गुहमन्त्री बने एमाले महन्थ ठाकुर नेत्तृत्वको जसपासँग चुनावी सहकार्य गर्दा झण्डै दुई तिहाई मत सहित पुनः शक्तिशाली प्रधानमन्त्री बन्ने ओलीको चाहाना छ । बस्नेतले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले २०५४ सालमा बामदेब गौतमले जस्तै चलाउने ओलीको बुझाई छ । तर राष्ट्रपति भण्डारीले भने गृहमा बस्नेतलाई नहुने अडान लिएपछि प्रधानमन्त्री ओली पछि हटेको स्रोतको दाबी छ । बस्नेतले यस अघि उद्योग मन्त्रीको जिम्मेवारी पुरा गरिसकेका छन् ।