देशका सबैजसो ठाउँमा तापक्रम बढेसँगै प्रशस्त पानी पिउन विज्ञको सुझाव

admin

काठमाडौं, २२ जेठ : काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । (आज) शुक्रबार काठमाडौंको तापक्रम ३० डिग्री आसपास रहेको छ । बिहीबार २९ दशमलव ४ प्रतिशत थियो भने अस्ति ३१ डिग्री सेल्सियस थियो । मौसमविद् मिनकुमार अर्यालका अनुसार उपत्यकासहित देशका प्राय सबैजसो ठाउँमा तापक्रम बढेको छ ।

उनका अनुसार तराईका जिल्लाको तापक्रम ३४-३५ डिग्री सेल्सियस भन्दा माथि छ । केही ठाउँको मौसम आंशिक बद्ली भए पनि जमिन तात्तिएकाले गर्मी महसुस भएको मौसमविद्ले बताएका छन् । केही दिनसम्म मौसम बद्ली भई पानी परेको र त्यस पछि मौसम सफा भई घाम लागेकाले जमिन तात्तिँदा बढी गर्मी महसुस भएको मौसमविद् अर्यालले बताए ।

मौसम सफा भएर जमिन तात्तिएकाले रातको समयमा पनि गर्मी महसुस हुन थालेको छ । एक दुई दिन मौसम यस्तै रहने अनुमान छ । तर, प्रि मनसुनको समय भएकाले दिउँसो पछि केही ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । आउँदो मंगलबारदेखि भने प्रि मनसुन थप सक्रिय भएर धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।

यसैबीच, गर्मी बढेकाले प्रशस्त पानी पिउन डाक्टरले सुुझाव दिएका छन् । गर्मीको बेला शरीरमा पानीको अभाव हुँदा स्वास्थ्य समस्या देखिने र केहीलाई डिहाइड्रेशनको समेत हुन सक्ने डाक्टरले बताएका छन् । डिहाइड्रेशनका कारण व्यक्तिको सोच्ने क्षमता र रक्तसञ्चारमा कमी आउन सक्छ । गर्मीको समयमा पानीसँगै प्रशस्त पानी पाइने फलफूल र तरकारी खान डाक्टरको सुझाव छ । खर्बुजा, मेवा, गोलभेडा, मुला, गाजर जस्ता शरीरलाई शीतल दिने फलफूल र तरकारी खान विज्ञको सल्लाह छ ।

प्रतिक्रिया