काठमाडौं, २३ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पुनर्गठित मन्त्रिमण्डलमा एमालेका २ र जनता समाजवादी पार्टी (जसपा) का ७ मन्त्री र २ राज्यमन्त्रीले हिजो सपथ लिएका छन् । जसपाबाट मन्त्री हुने मध्यमा चन्दा चौधरी पनि एक हुन् ।
पूर्वराजपाकी महासचिवसमेत रहेकी चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको जिम्मेवारी पाएकी छन् । नेपालीसँग विवाह गरेकी भारतीय चेली चौधरी अंगीकृत नागरिकताधारी हुन् । यद्यपि नेपालको संविधानले अंगीकृतलाई मन्त्री बन्न रोकेको छैन ।
एक समय एमालेकै सांसद गंगा चौधरीले चन्दा चौधरीलाई लक्षित गर्दै ‘नेपालको संसदमा भारतीय चेलीको दादागिरी’ चलेको अभिव्यक्ति दिएकी थिइन् । उक्त अभिव्यक्तिको प्रतिवाद गर्दै चन्दाले संसदमा नियमापत्ति गरिन् र रेकर्डबाट उक्त शब्द हटाउन सभामुख अग्नि सापकोटासँग माग गरिन् ।
चन्दाले संसदमा हिन्दीमा सम्बोधन गरेको विषयमा गंगाले आपत्ति जनाएकी थिइन् । नेपालको संसदमा हिन्दी बोल्ने परम्परा २०४८ सालको संसददेखि नै चल्दै आएको प्रष्टीकरण चन्दाको थियो ।