काठमाडौं, २३ जेठ : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफूलाई फेरि पनि पार्टीमै खटिने जिम्मेवारी आएको बताएका छन् । उपप्रधानमन्त्रीबाट हटेपछि सामाजिक सञ्जालमार्फत पोखरेलले अहिलेको अवस्था आफूले बुझेको र पार्टीको महासचिव भएर पुनः भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको बताएका हुन् ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसित यस सम्बन्धमा कुराहरू भएका र उनले परिस्थितिको गम्भीरताबारे बताउँदै आएको पोखरेलको भनाइ छ । अहिले कतिपयले भन्ने गरेजस्तो सबैतिर छ पार्टी, तर कहीँ पनि छैन पार्टी जस्तो अवस्थालाई बदल्नुपर्ने चुनौती आफूलाई आइपरेको पोखरेलको भनाइ छ । पार्टीभित्रको एकतामा सङ्कट देखापरेको र यसलाई जोगाउन आफूले भूमिका खेल्नुपर्ने बेला आएको पनि पोखरेलले बताएका छन् ।