काठमाडौं, २३ जेठ : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटी र जनसंगठनहरु २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गरेका छन् । बिहीबार पार्टी एकतालाई रक्षा एवम् सुदृढ गर्न ६ बुँदे प्रस्ताव सहितको आह्वान गर्दै उनले असन्तुष्ट माधव कुमार नेपाल पक्षलाई फकाउने प्रयास गरेका छन् ।
अध्यक्ष ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिए आफू जेठ ३ का फर्कन तयार रहेको बताएका हुन्। खनाल–नेपाल समूहले आजै (आइतबार) ओलीले वार्ताका नाममा चालबाजी गरिरहेको बताएका थिए । उनीहरूले कारबाही फिर्ता लिएमात्रै वार्ता अघि बढ्ने पनि बताएका थिए।
‘नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन् । मातहतका पार्टी कमिटी र जनसङ्गठनहरु मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन् ।
सङ्गठनात्मक क्षेत्रका यी निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ । आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने छ,’उनले भनेका छन् ।
ओलीले पार्टी एकतालाई रक्षा एवम् सुदृढ गर्न ६ बुँदे प्रस्ताव सहितको आह्वान गरेका छन्।
हेर्नुहोस् विज्ञप्ति