काठमाडौँ, २४ जेठ : नेकपा एमालेकी युवा नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको एकताको प्रस्ताव झुक्काउने, अलमलाउने किसिमको भएको टिप्पणी गरेकी छन् ।
अध्यक्ष ओलीले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपाल पक्षसँग एकताको लागि ६ बुँदे प्रस्ताव गर्दै पार्टीलाई सशर्त जेठ २०७५ जेठ ३ अघिको अवस्थामा लैजाने प्रस्ताव गरेपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेतृ झाँकीले विज्ञप्ति आएको सुन्दा शुरुमा खुशी लागेको भएपनि एकता भंग गराउने खस उद्देश्यसहित आएकी बताएकी छन् ।
उनले यस विज्ञप्तिबाट भ्रममा नपर्न नेताहरुलाई अनुरोध गर्दै आफ्नो पक्षको आधिकारिक धारणा स्थायी कमिटीको बैठकले दिने बताएकी छन् ।
उनले भनेकी छन्-
भर्खरै मिडियामा अध्यक्ष क. खड्ग प्रशाद ओलीको नामबाट आएको वक्तव्य पढ्न पाइयो। सुरूमा यो वक्तव्य देखेर म पनि खुसी भएँ। उत्साहित हुदै पढेँ। पढ्दै जाँदा लाग्यो पार्टीको एकता खास उदेश्यका लागि थियो र एकता भंग पनि खास उदेश्य पुरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै छ ।
अब रह्यो नेकपा एमालेको एकताको कुरा: यो साच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बिचमा सहमति गरि वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउथ्यो। एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होईन… झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्छ।
अझ गम्भिर कुरा त के छ भने बुदा नं. ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ । यो कसले फिर्ता लिने ? फिर्ता लिने पक्षसंग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होईन र ?
लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशिल गराउन, संसद पुनस्थापना गर्न, हामी अदालतको ढोका ढकढकाउन पुगेका थियौँ। हामीहरूले यसको सुनिश्चिता बिना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन।
त्यसैले यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाईनका साथ आएको वक्तव्य हो। यसप्रति भ्रममा नपर्न अनुरोध गर्दछु । बिकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिवारे हाम्रो पार्टीको स्थायीको बैठक बसी संस्थागत धारणा दिइनेछ ।