भोलिदेखि काठमाडौंका सबै वडामा खोप केन्द्र निर्धारण (सूचीसहित)

admin

काठमाडौं, २४ जेठ : काठमाडौं महानगरपालिकासहित काठमाडौंका विभिन्न ११ पालिकामा (भोलि) मंगलबारदेखि ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई चिनियाँ भेरोसेलको पहिलो मात्रा लगाइने भएको छ । काठमाडौं महानगरपालिकाले सूचना निकालेर मंगलबारदेखि २९ गतेसम्म भेरोसेल खोप लगाइने जानकारी गराएको छ ।

महानगरपालिकाका सहरी स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार भेरोसेलको पहिलो खोप लगाउनका लागि विभिन्न ३२ वटा वडामा ३२ केन्द्र तोकिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गएको १८ गतेको निर्णय र जिल्ला खोप तथा अनुगमन समिति काठमाडौंको २३ गते आइतबारको निर्णयअनुसार कोरना भाइरसविरुद्धको भेरोसेलको पहिलो डोज लगाउन लागिएको हो ।

काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार मंगलबारदेखि काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, नागार्जुन नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, दक्षिणकाली नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, शंकरापुर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकामा भेरोसेलको पहिलो मात्रा ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई लगाउन लागिएको हो ।

खोप लगाउन जाँदा उमेर खुल्ने परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र वा सम्बन्धित वडा कार्यालयको सिफारिस लैजानु पर्दछ । चीनले कोरोना विरुद्धको भेरोसेलको १० लाख डोज अनुदानमा उपलब्ध गराएपछि ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई यो खोप दिन लागिएको हो । चीनले यसअघि नेपाललाई ८ लाख डोज खोप अनुदानमा दिएको थियो ।

प्रतिक्रिया