हवाई इन्धनको मूल्य घटेसँगै वायु सेवा निगमद्वारा पनि मूल्य समायोजन

admin

काठमाडौं, २४ जेठ : हवाई इन्धनको मूल्य घटेसँगै नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले पनि मूल्य समायोजन गरेको छ । सोमबार विज्ञप्ति निकालेर निगमले वाइडबडीको भाडामा १३ प्रतिशत र न्यारोबडीको भाडामा १५ प्रतिशतसम्म कटौती भएको जनाएको हो ।

नियमित उडान सुरु भएपछि अरू गन्तव्यको हवाई भाडा पनि समायोजन गरिने निगमले जनाएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य २० प्रतिशत घटाउने निर्णय गरेसँगै वायु सेवा निगमले भाडा घटाएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताए ।

आयल निगमले आइतबार हवाई इन्धनको मूल्य २० प्रतिशत घटाउने निर्णय गरेको थियो । यसअघि नेपालमा भरिने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य अत्यधिक महँगो भएको भन्दै वायु सेवा निगमले मूल्य समायोजनका लागि आग्रह गर्दै आएको थियो ।

नेपाल आयल निगमले (हिजो) आइतबार राति १२ः०० बजेदेखि नै लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएको हो । निगम सञ्चालक समितिको बैठकले कोभिडको अवस्था रहुन्जेल अन्तर्राष्ट्रिय हवाई इन्धनमा बढीमा १५ प्रतिशतसम्म नाफा राखि मूल्य निर्धारण गर्ने नीति पारित गरेको हो ।

यसअघि अमेरिकी डलर ८९३ प्रतिकिलोलिटर रहेको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७१५ कायम गरिएको छ । निगमले एकैपटक प्रतिकिलोलिटर अमेरिकी डलर १७८ ले मूल्य घटाएको हो । आइतबारसम्म निगमलाई अन्तर्राष्ट्रिय हवाई इन्धनमा ४० प्रतिशत नाफा रहेको थियो ।

यसअघि निगमलाई अन्तर्राष्ट्रिय हवाई इन्धनमा ७० प्रतिशतसम्म रहेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार कोरोनाको एक वर्षको अवधिमा हवाई इन्धनबाट निगमलाई पाक्षिक (१५ दिनको अवधिमा) रुपमा एक करोड ५० लाख रुपैयाँ नाफा भएको छ ।

निगमलाई खाना पकाउने एलपी ग्यासबाट पाक्षिक रुपमा अनुमानित रुपमा ५० करोड रुपैयाँ नोक्सान रहेको छ । एलपी ग्यासको नोक्सानी निगमले हवाई इन्धनबाट परिपूर्ति गर्दै आएको थियो । निगमको इन्धन मूल्य निर्धारण नीतिअनुसार एलपी ग्यासको नोक्सानीलाई अन्तर्राष्ट्रिय हवाई इन्धनको नाफाबाट परिपूर्ति गर्ने व्यवस्था रहेको छ ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा कमी आएसँगै हवाई भाडामा कमी आउने अपेक्षा गरिएको छ । मूल्यमा कमी आएसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमलाई हवाई इन्धनबाट मात्र वार्षिक रुपमा ७० करोड रुपैयाँभन्दा बढी रकम बचत हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया