कोरोना महामारीमै बढ्यो हात धुने साबुनको भाउ

admin

काठमाडौं, २५ जेठ :  कोरोना महामारीबाट बच्नका लागि स्वास्थ्यकर्मी र विज्ञहरूले साबुन पानीले हात धुन सुझाव दिने गरेका छन् । अझ सरकारले सार्वजनिक रूपमा यसको विज्ञापनसँगै हरेक टेलिफोन र मोबाइलमा डायल गर्दा रिङटोनमै साबुन पानीको हात धुन सन्देश प्रवाह पनि गरिरहेको छ । तर, त्यही साबुनको भाउ बढ्दै गएको छ ।

बजारमा अधिकांश वस्तुको मूल्य बढिरहेको बेला सरसफाइका लागि प्रयोग हुने साबुनको मूल्य २० देखि २५ प्रतिशतले बढेको छ । हात धुनकै लागि प्रयोग हुने साबुनको समेत मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्न गएको छ ।

साबुन बनाउन प्रयोग हुने कच्चा पदार्थको मूल्य बढेर आएको भन्दै उद्योगले साबुन, सोडाको मूल्य बढाएका छन् । कच्चा पदार्थको मूल्य बढेर आएको बहाना देखाउँदै उद्योगीले नुुहाउन र कपडा धुनका लागि प्रयोग हुने साबुन, भाडा धुने साबुन, सोडा सबैको मूल्य बढाएका छन् ।

दिनेश साबुन उद्योगका सञ्चालक मुकुन्द घिमिरेले साबुनका लागि प्रयोग हुने कच्चा पदार्थको मूल्य बढेर आएकाले साबुन सरफको मूल्य २० देखि २५ प्रतिशत बढ्न गएको बताए । “अहिले साबुनको होलसेल मूल्यमात्र बढेको छ,” उनले भने, “असार महिनादेखि खुद्रा मूल्यसमेत बढ्छ ।” कोभिडको बेला अनिवार्य रूपमा हात धुनुपर्ने भएपछि बजारमा खपत पनि बढेको उनले जानकारी दिए ।

साबुन बनाउनका लागि प्रयोग हुने कच्चा पदार्थ विदेशबाट आयात हुने गर्छ । पछिल्लो एक सातादेखि बजारमा खुद्रा व्यवसायीले मूल्य बढेर आएको भन्दै साबुनको मूल्य बढाएको छ । प्रतिगोटा साबुनमा ५ देखि ७ रुपैयाँ बढ्न गएको छ ।

३५ रुपैयाँ पर्ने एक सय ग्रामको लक्स साबुनको मूल्य बढेर ४० पुगेको छ । यस्तै ३० रुपैयाँ पर्ने एक सय ग्रामको लाइफव्याई साबुन बढेर ३५ रुपैयाँ पुुगेको छ । यस्तै यसअघि ६० रुपैयाँ पर्ने ५ सय ग्रामको सरफमा ७ रुपैयाँ बढेर ६७ पुगेको छ । कच्चा पदार्थ मूल्य ६ महिना अघिदेखि नै बढे पनि बजार बन्द भएकाले यस अघि मूल्य नबढाएको र बजार खुल्दा बित्तिकै अझ मूल्य बढने उद्योगीको भनाइ छ ।

उद्योगीका अनुसार मुलुकमा २० अर्ब रुपैयाँ बराबरको वार्षिक सवा २ लाख टन साबुन खपत हुनेगर्छ । जसमा ६० देखि ६५ प्रतिशत स्वदेशी उत्पादन र ३० देखि ३५ प्रतिशत विदेशबाट आयात गर्नुपर्छ । साबुनका लागि वार्षिक ६ देखि ८ अर्ब रुपैयाँ विदेशीने गर्छ । कपडा धुने साबुनका लागि मुलुक आत्मनिर्भर भए पनि नुहाउने साबुन विदेशबाट आयात हुनेगर्छ । उद्योगीका अनुसार लुगाधुने साबुनमा मुलुक आत्मनिर्भर भएको छ ।

वार्षिक डेढ लाख टन खपत हुन्छ । यस्तै कपडा धुने सोडा ७० देखि ८० हजार टन खपत हुन्छ । नुहाउने साबुन २५ देखि ३० खपत हुनेगर्छ । नुहाउने साबुन र महँगो सोडा विदेशबाट आयात हुन्छ । ह्विल, ओके, लक्स, लाइफव्याई, डिटोल, एरियललगायतका साबुन बजारमा पाइन्छ । सरकारको मापदण्डअनुसार बजारमा लुगा धुने साबुन १००, १५०, २००, २५० ग्रामका साबुन उत्पादन हुनेगर्छ ।

यस्तै नुहाउने साबुन २२, ३०, १०, १०० ग्रामका साबुन उत्पादन हुनेगर्छ । मुलुकमा चालू आर्थिक वर्षको १० महिनामा १ अर्ब ६२ करोड ४७ लाख ३४ हजार रुपैयाँ बराबरको १ करोड २२ लाख ४४ हजार २ सय १ किलो साबुन आयात भएको छ ।

चाइना, इन्डोनेसिया, जर्मनी, थाइल्यान्ड, मलेसिया, भियतनामलगायतका मुलुकबाट साबुन आयात हुनेगर्छ । मुलुकमा लुगाउन धुने साबुन र पाउडर उत्पादन गर्ने १०० उद्योग रहेका छन् । धुलो पाउडरमात्र उत्पादन गर्ने ६० वटा उद्योग छन् । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू