सभामुखले किन आयोजना गरे प्रधानमन्त्रीसहित शीर्ष नेतासँग छलफल

admin

काठमाडौं, २६ जेठ : सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा प्रमुख राजनीतिक दलका नेतासँग शुक्रबार छलफल गर्न लागेका छन् ।

सभामुख सापकोटाले पत्राचार नै गरेर विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलका लागि आमन्त्रण गरेका हुन् ।

सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बैठकमा बोलाइएको छ ।

समसामयिक विषयमा छलफलका लागि उनीहरुलाई बोलाइएको बताइएको छ । बैठक अपराह्न संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आयोजना गरिएको छ ।

प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुख सापकोटाले यसअघि पूर्वसभामुख तथा कानून व्यवसायीसँग छलफल गरेका थिए । ती छलफलहरुमा उनले आफूले असाधारण कदम चाल्न सक्ने बताएका थिए । तर उनले आफूले चाल्ने असाधारण कदम के हो भन्नेबारे कुनै खुलासा गरेका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि अहिले उक्त मुद्दा सर्वोच्च अदालतमा संवैधानिक इजलासमा बहस जारी छ । यस्तो अवस्थामा सभामुखले शीर्ष नेताहरुसहित पूर्वप्रधानमन्त्रीसम्मको बैठक बोलाउनुलाई अर्थपूर्णरुपमा लिइएको छ ।

प्रतिक्रिया