काठमाडौं, २७ जेठ : नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलले माधव नेपाल-झलनाथ खनाल समूहले पठाएको पत्र अत्यन्त गम्भीर प्रकृतिको रहेको बताएका छन् । बिहीबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अर्थ मन्त्री पौडेलले आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल सफल नहुने समेत बताएका छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उदार र खुला विचारका साथ गरेको आह्वानलाई यसरी अस्वीकार गर्नु भनेको नेपाल-खनाल समूह पार्टी एकताको पक्षमा नरहेको बुझ्न बाध्य बनाएको उपप्रधानमन्त्री पौडेलले बताए ।
उनले पार्टीका आम कार्यकर्ता एकताको पक्षमा रहेको अवस्थामा नेपाल-खनाल पक्ष कुनै पनि हालतमा विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्नु, आफ्नो अडानबाट पछि हट्न नखोज्नु, पार्टी एकताका लागि घातक भएको बताए ।
यसरी घातक खेलमा लागेका व्यक्तिहरू अलग हुन सक्ने तर पार्टी विभाजन हुन नसक्ने उपप्रधानमन्त्री पौडेलले स्पष्ट पारे । संस्थापन पक्षले पार्टी एकताका लागि अन्तिमसम्म कोसिस गर्ने उनको भनाइ छ । पार्टीका नेता, कार्यकर्ता अहिले पनि एकताको पक्षमा रहेकोले विभाजनमा जाने नेताहरूलाई कसैले साथ नदिने तर्क गरे ।
आफूहरूले विभाजन गर्ने गलत कामलाई सम्पूर्ण रूपमा असफल बनाउने पनि अर्थ मन्त्री पौडेलले बताए । यसअघि गएको आइतबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउन आफू तयार रहेको तर सर्वोच्चमा बुझाइएको रिटको हस्ताक्षर फिर्ताको प्रस्ताव राखेका थिए ।
यही प्रस्ताव जवाफ दिँदै खनाल-नेपाल पक्षले छलछाम र षड्यन्त्रपूर्वक किसिमले कुरा गरेर राष्ट्र र नागरिक तथा पार्टीपङ्क्तिको भवनाअनुसार पार्टीमा एकता कायम नहुने कुरा स्पष्ट हुँदा हुँदै पार्टी अध्यक्ष र देशको प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा आसिन व्यक्तिबाट अनुचित मार्ग र शैली अवलम्बन गरिनु दुःख र चिन्ताको विषय भएको बताएको हो ।