गृह मन्त्रालय २४ घण्टै खुला राख्न नवनियुक्त मन्त्री अधिकारीको निर्देशन

admin

काठमाडौँ, २७ जेठ: नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले गृह मन्त्रालयलाई २४ घण्टै खुला राख्न निर्देशन दिएका छन् । बिहीवार शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालय पदभार सम्हाल्दै मन्त्री अधिकारीले मन्त्रालयलाई २४ घण्टै खुला राख्न कर्मचारीलाई निर्देशन दिए ।

मन्त्री पदको शपथ लिएर कार्यभार सम्हाल्न मन्त्रालय पुगेका अधिकारीलाई कर्मचारीहरूले फूलको माला र पुष्पगुच्छाले स्वागत गरेका थिए । मन्त्री अधिकारीले गृह मन्त्रालयमा आएको काम १ दिनमै कार्यसम्पादन गर्न समेत निर्देशन दिए । कर्मचारीले सेवाग्राहीको फाइल घुमाएमा कारवाही गर्ने चेतावनी उनले दिए ।

‘गृह मन्त्रालय मातहतबाट हुने काम १ दिनमा गर्नुपर्छ । कसैलाई फाइल घुमाउने अधिकार छैन, हुने काम हो भने हुने, हुने काम होइन भने हुँदैन भन्नुस्,’ उनले निर्देशन दिए । गृह मन्त्रालयले ७७ वटै जिल्लामा चुस्तदुरुस्त प्रशासनको प्रत्याभूति जनतालाई दिन निर्देशन दिए । बाढीपहिरोको समय भएकाले जनताको जिउधनको सुरक्षामा लाग्न समेत निर्देशन दिए ।

गृह मन्त्रालयका मातहतका कर्मचारी र सुरक्षा निकायले २४ घण्टै काम गर्नुपर्ने भएकाले कसैले पनि आफ्नो ड्युटी समय सकियो भन्न नपाउने उनले बताए ।
‘गृह मन्त्रालय २४ सै घण्टा खटिने मन्त्रालय हो, कसैले पनि मेरो ड्युटी १०–५ हो भन्न पाउँदैन सुरक्षा र शान्तिको लागि जुन कुनै मिनेट पनि खटिनुपर्छ,’ मन्त्री अधिकारीले निर्देशन दिँदै भने ।

कुनै पनि कर्मचारीले भ्रष्टाचार गरेको थाहा पाए तत्कालै कारवाही गर्ने समेत उनले बताए । नेपालको भूमि चीन वा भारत कसैलाई पनि प्रयोग हुन नदिने र १ इन्च पनि मिच्न नदिने समेत उनले बताए । ‘मन्त्री हुन्छु भन्ने ३ बजेसम्म पनि थाहा थिएन, त्यसैले प्रि–प्लान बनाएको छैन तर मन्त्रालयको हिजोदेखिका काम निरन्तर हुनेछन्,’ मन्त्री अधिकारीले भने ।

प्रतिक्रिया