खगेन्द्र संग्रौला, पत्रकार नारायण वाग्लेसहित १८ जना नागरिक अगुवा पक्राउ

admin

काठमाडौं, २८ जेठ : पत्रकार नारायण वाग्ले, खगेन्द्र संग्रौलासहित १८ नागरिक अगुवा पक्राउ परेका छन् । आफूहरू बालुवाटारबाट पक्राउ परेको र अहिले कमलपोखरी प्रहरी वृत्तमा रहेको वाग्लेले जानकारी दिएका हुन् । सत्ता निकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शन गर्ने क्रममा आफूहरूलाई पक्राउ परेको वाग्लेको भनाइ छ ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायत विषयमा विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको उनले बताए । नागरिक अगुवाहरूले ‘स्वास्थ्य सेवा हो व्यापार होइन’, ‘सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायत लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।

निषेधाज्ञाको समयमा प्रदर्शनमा निस्किएकाले आफूहरूले प्रदर्शनमा लागेकाहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सरकारी अस्पतालहरुको गुणस्तर सुधार गर्नुको साटो सरकारले निजी मेडिकल कलेजलाई सम्बन्ध दिएको विरोधमा वृहत् नागरिक आन्दोलनले शुक्रबार बालुवाटारमा विरोध प्रदर्शन गरेको हो ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप बन्द गर्न माग गर्दै उनीहरुले बालुवाटारमा प्रदर्शन गरेका हुन् । नागरिक अगुवाहरुले कानुन मिचेर झापाको वि एण्ड सी मेडिकल कलेजलाई सरकारले सम्बन्ध दिने तयारी गरेको भन्दै विरोध गरेका छन् । प्रदर्शनका क्रममा स्वास्थ्य सेवा हो, व्यापार होइन, जनस्वास्थ्यमा प्रतिगमन भयो जस्ता प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

 

 

 

 

प्रतिक्रिया