धनुषा, २८ जेठ : धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ मा एउटै पोखरीमा डुबेर पाँच बालिकाको ज्यान गएको छ । दिउँसो पौडी खेल्न गएका १० देखि १३ वर्ष उमेर समूहका उनीहरुमध्ये पाँच जनाको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिएका छन् । पौडी खेल्न आठ जना बालिकाहरु गएका थिए ।
उनकाअनुसार स्थानीय पल्टु यादवकी १२ वर्षकी छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षकी छोरी चन्द्रकुमारी भगत, राजगिर पूर्वेकी १३ वर्षकी छोरी मञ्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षकी छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षकी छोरी ललिता साहको ज्यान गएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको र अहिले अरु बालबालिकाहरु पनि डुबेका छन् कि भनेर खोजी भइरहेको एसपी रानाभाटले बताए ।