काठमाडौं, २८ जेठ : एलोपेथी (चिकित्सकीय प्रणाली) उपचार विधि र डाक्टरहरूको विरोधमा बोलेका बाबा रामदेवले अब कोरोना भाइरस (कोभिड-१९) खोप लगाउने बताएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार बिहीबार बाबा रामदेवले चाँडो भन्दा चाँडो कोरोना खोप लगाउने बताएका हुन् । साथै उनले ‘डाक्टर पृथ्वीमा देवदूत’ भएको पनि बताए ।
यसअघि रामदेवले योग र आयुर्वेद अपनाएका कारण आफू सुरक्षित रहेको र आफूलाई कोभिड-१९ को खोपको कुनै आवश्यकता नभएको बताएका थिए । जुन २१ तारिखदेखि सबैलाई सित्तैमा कोरोना खोप दिने प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणाको स्वागत गर्दै रामदेवले यसलाई सरकारको ऐतिहासिक कदम भएको बताएका छन् । उनले सबैलाई कोरोना खोप लगाउन अपिल गर्दै आफूले पनि चाँडै नै खोप लगाउने बताएका थिए ।
पीटीआईका अनुसार हरिद्वारमा रामदेवले संवाददाताहरुसँग भने, ‘कोरोनाको दुवै डोज लगाएर योग र आयुर्वेदको सहयोगमा कोरोनाविरुद्ध दुई गुणा बढी सुरक्षा प्राप्त गर्न सकिन्छ । यो दुवैले बलियो सुरक्षा कवचको काम गर्छन् । यसअघि रामदेवले एलोपेथी चिकित्सा पद्धतिमाथि प्रश्न गर्दै एलोपेथिक औषधि खाँदा लाखौँ मानिसको ज्यान गएको भन्ने विवादास्पद टिप्पणी गरेका थिए ।