कुलो निर्माणको विवादमा गोली चलाउने दुई जना पक्राउ

admin

दाङ, २८ जेठ : दाङको तुलसीपुर-८ अश्वारामा कुलोपानीको विषयमा विवाद हुँदा गोली चलेको विषयमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कुलो निर्माणको विषयमा विवाद हुँदा स्थानीय पूर्णबहादुर वलीले गोली चलाएका प्रहरीले जनाएको छ ।

गोली भने कसैलाई पनि नलागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहले जानकारी दिए । कुलोको विषयमा विवाद हुँदा तुलसीपुर-८ चन्द्रगञ्ज वलीले पेस्तोल निकालेर गोली चलाएका थिए । उनलाई प्रहरीले अहिले नियन्त्रणमा लिइसकेको डीएसपी सिंहले जानकारी दिए । प्रहरीले फायरिङ गरेको पेस्तोलसहित सात राउण्ड गोली नियन्त्रणमा लिएको छ ।

भारतमा बस्दै आएका उनी केही दिनअघि मात्रै घर आएका थिए । एक राउण्ड गोली चलाएर मोटरसाइकलमा भागेका वलीलाई प्रहरीले तुलसीपुरको पातुखोलाबाट नियन्त्रणमा लिएको डीएसपी सिंहले जानकारी दिए । प्रहरीका अनुसार उनले कसलाई गोली हान्न खोजेको भन्ने खुल्न सकेको छैन ।

पक्राउ पर्ने अर्का व्यक्ति तथा मोटरसाइकल चालक स्थानीय २१ वर्षीय आकाश चौधरी रहेको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रतिक्रिया