सामाजिक काममा रेखा निरन्तर, ७५ घरधुरीलाई राहत वितरण

admin

चितवन  :  इच्छाकामना गाउँपालिका कालीखोला–९ का विपन्न ७५ घरधुरी परिवारलाई राहत सामग्री वितरण गरिएको छ । फेसबुक अभियानबाट संकलन गरिएको तेस्रो चरणको रकमबाट उक्त ७५ विपन्न घरधुरी परिवारलाई बिहीबार राहत सामग्री वितरण गरिएको सामाजिक अभियान्ता रेखा लोप्चन तामाङले जानकारी दिए ।

सामाजिक अभियान्ता तामाङका अनुसार राहत सामग्री अशक्त, वृद्धवृद्धा, अपाङ्गता, एकल, गर्भवती, सुत्केरी र आर्थिक अवस्था कमजोर भएका परिवारलाई दिइएको हो । उक्त घर परिवारलाई राहत स्वरुप चामल, दाल, तेल, नून, विस्कृट, चाउचाउ दिइएको थियो ।

‘तेस्रो चरणको अभियानमा डेढ लाख बराबर रकम संकलन भएको छ ।’ उनले भने, ‘प्रत्येक घरधुरीको अनुगमन गर्दै, पारदर्शी ढंगबाट वितरण गरिने छ ।’ यस अभियानमा साथ सहयोग गर्नुहुने सबै सहयोगी मनकारी दाताहरुलाई उनले हार्दिक धन्यवाद समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा युवा संघ चितवनका इन्चार्ज ईश्वर रिमाल, उपाध्यक्ष फणिन्द्र श्रेष्ठ, अनेरास्ववियूका केन्द्रीय सदस्य शिव अल्पभाषी, भरतपुरका युवा व्यवसायी सुदर्शन उप्रेतीले सहजीकरण गरेका थिए भने राजनीतिक दल, जनप्रतिनिधि, चेपाङ संघ बागमती प्रदेशका अध्यक्ष लक्ष्मण चेपाङको उपस्थिति थियो ।
संकट कायम रहेसम्म फेसबुक अभियान जारी रहने र राहत सामग्री वितरणलाई निरन्तरता दिने उनले बताए । यसअघि पनि फेसबुक अभियानबाट संकलित रकमबाट दुई पटक राहत सामग्री वितरण गरी सकिएको बताइएको छ ।

प्रतिक्रिया