नरोत्तम वैद्यले आत्मालोचना गरे पश्चात संसदको रेकर्डबाट हटाइयो ओलीविरुद्धको अभिव्यक्ति

admin

काठमाडौं, २९ जेठ : नेपाली कांग्रेस वाग्मती प्रदेश सभाका सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा दिएको अभिव्यक्तिप्रति आत्मालोचना गरेका छन् । प्रदेश सभाको बैठकमा वैद्यले आफूले आवेगमा आएर संविधानले दिएको स्वतन्त्रताभन्दा धेरै बोलेको भन्दै आत्मालोचना गरेका हुन् ।

प्रधानमन्त्री ओलीप्रति आफ्नो कुनै रिसइबी नरहेको र उनको कार्यशैलीका कारण केही आवेगमा आएर चाहिनेभन्दा धेरै बोल्न पुगेको वैद्यको भनाइ छ । आफ्नो कुरा संसदीय मर्यादाभन्दा बाहिर रहेको पनि वैद्यले स्वीकार गरेका छन् । उनको अभिव्यक्ति प्रदेश सभाको रेकर्डबाट पनि हटाइएको छ । वैद्यले प्रधानमन्त्री ओलीले मनपरि गरेर देश डुबाउन लागेको भन्दै नेपालमा कोही नाथुराम गोड्से बन्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए ।

वैद्यले प्रदेश सभाको बैठकमै प्रधानमन्त्री ओलीविरुद्ध दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । वैद्यले शुक्रबार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री ओलीले देश डुबाउन लागेको भन्दै देशमा कोही नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भनेका थिए । नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरेका थिए । प्रदेश सभा सदस्य वैद्यको यो अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । एमालेका नेताहरुले तत्कालै पक्राउ गर्न माग गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि वैद्यको भनाइ आपत्तिजनक रहेको बताइसकेका छन् । उनले आत्मालोचना गर्न पनि निर्देशन दिएका थिए । त्यस्तै वैद्यको विवादित अभिव्यक्तिको मुलुकभर चर्को आलोचना हुँदा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल पक्षीय केन्द्रीय सदस्य मेटमणी चौधरीले भने उनको समर्थन गरेका छन् । शनिबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले वैद्यको पक्षमा उभिएका हुन् । उनले सत्य उजागर गरेको भन्दै धन्यवाद समेत दिएका छन् । उनले भनेका छन्, ‘तितो सत्य उजागर गर्नु भएकोमा धन्यवाद भन्न चाहन्छु । यसैले वहाँले न माफी माग्नु पर्दछ न त पश्चाताप !’

यसैगरी प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि सत्ताका लागि कांग्रेसले हिंस्रक योजना बनाएको दाबी गरेका थिए । प्रधानमन्त्रीको हत्याको योजनासहित वैद्यले आफू नाथुराम गोड्से हुन तयार रहेको बताएपछि रिमालले उनको कारबाहीको माग गर्दै यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् । एमाले स्थायी कमिटी सदस्यसमेत रहेका रिमालले सत्ताका लागि कांग्रेसले कहाँ-कहाँ र कस्ता तानाबाना बुन्दैछ भन्ने खुल्दै जाने उल्लेख गरेका छन् । रिमालले बैद्यको भनाइलाई ‘टङ स्लिप’ मात्र भन्न नसकिने बताएका छन् ।

‘प्रदेशसभा सदस्य बैद्यको यो भनाइ टङ स्लिप मात्र नभइ कांग्रेस हिंस्रक योजनाको नेतृत्व गर्दैछ भन्ने संकेत पनि हो’ रिमालले ट्वीटरमा लेखेका छन्, ‘कांग्रेस र विपक्षी गठबन्धनले आफ्नो योजना थप स्पष्ट पारोस् ।’

प्रदेश सभामा वैद्यले भनेका थिए, ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि, कोही तयार छैन भने म बन्ने कि !’

प्रतिक्रिया