कोरोना रोकथामको नियम उल्लङ्घन गरेको भन्दै ब्राजिलका राष्ट्रपतिलाई जरिबाना

admin

एजेन्सी, ३० जेठ : कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी गरिएको नियम उल्लङ्घन गरेको भन्दै ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई जरिबाना भएको छ । साओ पाउलो राज्यले बोलसोनारोलाई झन्डै एक सय १० अमेरिकी डलर जरिबाना तिराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छन् ।

(हिजो) शनिबार साओ पाउलोमा मोटरसाइकल र्‍यालीमा पुगेका राष्ट्रपति बोलसोनारोले मास्क नलगाएको र मास्क नलगाइ नागरिकसँग घुलमिल गरेको भन्दै जरिबाना तिराएको त्यहाँको सरकारले जनाएको छ । र्‍यालीमा उनले कोरोनाविरुद्धको खोप लगाइसकेकालाई मास्क लगाउनु नपर्ने निर्णय गर्नेबारे विचार गरिरहेको बताएका थिए ।

उनले भनेका छन्, ‘जसले यसको विरोध गर्दछ, उसले विज्ञानमा विश्वास गर्दैन । कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिबाट अर्को व्यक्तिमा कोरोनाको संक्रमण हुँदैन ।’ साओ पाउलो सरकारले राष्ट्रपति बोलसोनारोसहित पूर्वाधार (इन्फ्रास्ट्रक्चर) मन्त्रीलाई पनि मास्क नलगाएको भन्दै जरिबाना तिराएको छ ।

मोटरसाइकल र्‍यालीअघि साउ पाउलो राज्यका गर्भनर जोआओ डोरियाले कोरोनाविरुद्ध बनाइएको नियम नमान्नेलाई कारबाही हुने बताएका थिए । ब्राजिलमा अहिलेसम्म १२ प्रतिशतले कोरोनाविरुद्धको खोपको दोस्रो डोज पाइसकेका छन् ।

ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म एक करोड ७३ लाखभन्दा धेरै संक्रमित भएका छन् भने चार लाख ८६ हजारभन्दा धेरैको ज्यान गएको छ । राष्ट्रपति बोलसोनारोमाथि कोरोना रोकथामका लागि गम्भीर नभएको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया