खाद्यान्नसहित पुस्तक पसल बिहान ११ बजेसम्म खुलाउने निर्णयसँगै एक हप्ता निषेधाज्ञा लम्बियो

admin

काठमाडौं, ३० जेठ : काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा एक हप्ता लम्ब्याइएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एक हप्ता निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । थपिएको निषेधाज्ञामा पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने निर्णय भएको छ ।

नयाँ शैक्षिक सत्र यही असार १ गतेदेखि सुरु हुन लाग्दा पनि पुस्तक पसल बन्द हुँदा विद्यार्थीले पुस्तक नपाएको गुनासो बढेपछि बिहान ११ बजेसम्म पुस्तक पसल खोल्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

यस्तै खाद्यान्न, तरकारी तथा फलफूलको पसल खोल्ने अवधि दुई घण्टा थपेर बिहान ११ बजेसम्मका लागि पुर्‍याइएको छ । यसअघि खाद्यान्न पसल बिहान ९ बजेसम्म मात्रै खोल्न दिइन्थ्यो । यस्तै हार्डवेयर पसल दिउँसो ४ बजेदेखि खुल्ने छ भने अनलाइन डेलिभरी गर्न दिने निर्णय भएको छ ।

यसैगरी कृषि कार्यका लागि अनुमति दिने र बचत तथा ऋण सहकारी संस्था पनि खुलाउन पाइने भएको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण केही घटे पनि जोखिम कायमै रहेको भन्दै थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । उपत्यका पछिल्लो समय थपिएको निषेधाज्ञा (भोलि) सोमबारदेखि सकिँदैछ ।

प्रतिक्रिया