आज तीन हजार नौ सय ५४ जना डिस्चार्ज, परीक्षण घटेसँगै कोरोना संक्रमित पनि घटे

admin

काठमाडौं, ३० जेठ : आइतबार १२ हजार चार सय ६ जनाको नमुना परीक्षण गर्दा दुई हजार चार सय सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा सात हजार पाँच सय १७ जनाको पीसीआर र चार हजार आठ सय ८९ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा दुई हजार चार सय सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

देशभर संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकामा ६ सय ५३ जनामा संक्रमण पाइएको छ । काठमाडौंमा चार सय ८३, ललितपुरमा एक सय १२ र भक्तपुरमा ५८ जनामा संक्रमण पाइएको छ । अहिले नेपालमा कोरोनाको परीक्षण घटेसँगै संक्रमितको संख्या पनि घटेको छ । पीसीआर र एन्टिजेनमार्फत निःशुल्क परीक्षण गर्ने व्यवस्था भए पनि परीक्षण गराउन जानेको संख्या घटेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवम् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले बताए ।

गाउँघरमा संक्रमणको जोखिम रहेकाले कोभिडको कुनै लक्षण देखिनासाथ नजिकैको स्वास्थ्य संस्थामा परीक्षणका लागि जान पनि प्रवक्ता पौडेलको अनुरोध छ । आइतबार देशभरका ४४ वटा जिल्लामा पाँच सयभन्दा धेरै सक्रिय संक्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै सबैभन्दा धेरै संक्रमण वाग्मती प्रदेशमा पाइएको छ ।

मन्त्रालयका अनुसार वाग्मतीमा ३८ प्रतिशत, लुम्बिनीमा १६, प्रदेश एकमा १३, गण्डकी प्रदेशमा १०, कर्णाली प्रदेशमा सबैभन्दा कम पाँच प्रतिशत र सुदूरपश्चिममा नौ प्रतिशतमा संक्रमण भेटिएको छ । अहिले देशभर ६८ हजार ९ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बितेको २४ घण्टामा तीन हजार नौ सय ५४ जना डिस्चार्ज भएका छन् । यस्तै कोरोना संक्रमणका कारण थप ४६ जनाको जनाको ज्यान गएको छ ।

प्रतिक्रिया