‘खोपको एक मात्राले पनि काम गर्छ, अनियमितता गर्नेमाथि छानबिन हुने’

admin

काठमाडौं, ३० जेठ : नेपालमा अहिलेसम्म सात लाखभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा पाएका छन् । अहिलेसम्म नेपालले ४२ लाख ४८ हजार खोप प्राप्त गरेकोमा सात लाखभन्दा धेरैलाई दोस्रो मात्रा पनि दिइएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म २४ लाखभन्दा धेरैले खोपको पहिलो मात्रा पाएका छन् । यस्तै अहिले ६० देखि ६४ वर्ष उमेर समूहका लागि भइरहेको खोप कार्यक्रममा अहिलेसम्म तीन लाखभन्दा धेरैले भेरोसेल खोपको पहिलो मात्रा पाएका छन् । अहिले चलिरहेको खोप कार्यक्रममा धेरै ठाउँमा अनियमितता भएको गुनासो आएकाले यसबारे छानबिन हुने खोप शाखाका प्रमुख डा. गौतमले बताए ।

चिनेजानेको भरमा र दबाबमा केही ठाउँमा खोपमा अनियमितता भइरहेको गुनासो आएकाले छानबिन हुने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले बताए । यसका लागि समन्वय र अनुमगन समिति बनेको पनि उनले बताए । अहिले केन्द्रबाट प्रदेश, प्रदेशबाट जिल्ला र जिल्लाबाट पालिकामा खोप पठाउने गरिएको छ । सरकारले तोकेको प्राथमिकताका आधारमा खोप नदिए त्यसको छानबिन हुने उनले बताए ।

यस्तै कोरोनाविरुद्धको खोप निःशुल्क वितरण गर्ने गरिएकाले कोही कसैले बिक्री गरे वा बिक्री गर्ने प्रयास गरेको थाहा पाए नजिकैको सम्बन्धित निकायमा खबर गर्न पनि मन्त्रालयको आग्रह छ । यस्तै सरकारले कोरोनाविरुद्धको खोपको एक मात्राले पनि काम गर्ने हुँदा नआत्तिन आग्रह गरेको छ । ज्येष्ठ नागरिकले कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा पाएको १२ हप्ता भइसक्दा पनि दोस्रो मात्रा नपाएको गुनासो बढिरहेका बेला सरकारले एक मात्राले पनि काम गर्ने हुँदा नआत्तिन आग्रह गरेको हो ।

खोपको पहिलो मात्रा लगाएको ६ महिनासम्म शरीरमा रोगसँग लड्ने क्षमता एन्टिबडी बन्ने खोप डा. गौतमले बताए । उनका अनुसार एक मात्रा मात्रै लगाएकाहरूलाई कोरोना भाइरसको संक्रमण भइहाले पनि ज्यान जाने जोखिम कम हुन्छ । यसैगरी उनले १८ वर्षभन्दा कम उमेर समूहकालाई कोरोनाविरुद्धको खोप अनुमति नदिएको भन्दै तोकिएको उमेर समूहलाई मात्रै खोप लगाउन आग्रह गरेका छन् ।

गम्भीर बिरामी परेका, ज्वरो आएका तथा कोरोना भाइरसको संक्रमण भएकालाई खोप नलगाउन उनको सुझाव छ । ज्वरो निको भएपछि भने खोप लगाउन सकिन्छ । यस्तै कोरोना संक्रमण भइ निको भएको एक महिनापछि खोप लगाउन हुने उनले बताए । नेपालले थप खोप खरिदका लागि लगातार प्रयास गरिरहेको पनि खोप डा गौतमले जानकारी दिए ।

केही समयभित्रै खोप आउने आश्वासन आएकाले ढिलो चाँडो खोप आउनेमा विश्वस्त रहेको उनले बताएका छन् । यसैगरी प्राथमिकताका आधारमा अग्रपङ्क्तिमा खटिने र राज्यले निर्धारण गरेको मापदण्डअनुसार अहिले खोप वितरण भइरहेकाले शिक्षकलगायत खोप नपाएका समूहलाई केही समय पर्खिन स्वास्थ्य मन्त्रालयको आग्रह छ ।

प्रतिक्रिया