परिसूचक तीन हजार नजिक, एकै दिन साढे १९ अर्बको कारोबार

admin

काठमाडौं, ३० जेठ : आइतबार परिसूचक तीन हजार नजिक पुग्दा र साढे १९ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएसँगै नयाँ रेकर्ड कायम भएको छ । नेप्से परिसूचक ३८ दशमलव २३ अङ्कले बढेर २९ सय ८३ दशमलव १० अङ्कमा पुगेको हो । यसअघि गएको हप्ताको मंगलबार नेप्से २९ सय ६० दशमलव १४ विन्दुमा पुगेको थियो ।

आइतबार १९ अर्ब ५५ करोड रुपैयाँ बराबरका तीन करोड ७० लाख कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । यसअघि गएको २३ गते १७ अर्ब २७ करोड रुपैयाँको शेयर कारोबार भएर रेकर्ड कायम भएको थियो । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सबैभन्दा धेरै ७२ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यस्तै आइतबार श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, आईसीएफसी फाइनान्स लिमिटेड, कर्णाली डेभलपमेन्ट लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

रिलायन्स फाइनान्स लिमिटेडसहित ४० वटा कम्पनीको शेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य भने ४ दशमलव १५ प्रतिशत घटेको छ । आज विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै ८ दशमलव २४ प्रतिशत अर्थात् तीन सय ८८ दशमलव २४ अङ्कले बढेको छ ।

प्रतिक्रिया