दलीय प्रणालीमा विश्वास राख्ने हो भने राजनीतिक रूपमा सरकारसँग बहुमत छ : मुख्यमन्त्री पोखरेल

राष्ट्रिय समाचार समिति

रुपन्देही, ३० जेठ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नो सरकारसँग बहुमत भएको बताएका छन् । मुख्यमन्त्री पोखरेलले नेकपा एमालेसँग ३९ र जनता समाजवादी पार्टीसँग ६ सदस्य रहेको जानकारी दिँदै जनता समाजवादी पार्टीका विषयमा प्रदेश सभा सचिवालय नै स्पष्ट नभएको आरोप लगाए ।

मुख्यमन्त्री पोखरेलले भने, ‘दलीय प्रणालीमा विश्वास राख्ने हो भने राजनीतिक रूपमा सरकारसँग बहुमत छ ।’ यसैबीच लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको हो ।

यसअघि मुख्यमन्त्री पोखरेलले आव २०७८/७९ को नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव प्रदेश सभामा प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले बहुमतको निर्णयलाई प्रदेश सभाले स्वीकार नगरेको उल्लेख गर्दै कानुन कार्यान्वयनका विषयमा आफ्नो अरूचि नरहेको जनाए ।

कोरोना महामारीविरुद्धको लडाइँमा प्रदेश सरकारले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनले खोप व्यवस्थापनको विषय सङ्घीय सरकारको भएको स्पष्ट पारे। उनले नदीजन्य पदार्थको व्यवस्थापनको काम प्रदेश सरकारले नगरेको र त्यो काम पालिकाले जानकारी दिँदै राजस्व बाँडफाँडको काम भएको तर कम पालिकाबाट ४० प्रतिशत राजस्व प्राप्त गरेको बताए । उनले मर्चवार क्षेत्रको विकासका लागि दोब्बर बजेट विनियोजन भएको र त्यहाँको विकासलाई उच्च प्राथमिकता दिइएको स्पष्ट पारे ।

प्रतिक्रिया