काठमाडौं, ३१ जेठ : ड्युटीमा खटिएका प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई गण्डकी प्रदेशका एक प्रदेश सभा सांसदले धम्की दिएका छन् । डयुटीमा रहेका कास्की प्रहरीका इन्सपेक्टर श्याम थापा मगरलाई सांसद मेखलाल श्रेष्ठले ‘हिसाब किताब’ हुने भन्दै धम्की दिएका हुन् ।
शनिबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गठबन्धनका उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि नवनियुक्त मुख्यमन्त्रीलाई बधाई शुभकामना दिन जाने क्रममा नेपाली कांग्रेसका सांसद मेखलाल श्रेष्ठले प्रहरी निरीक्षक श्याम थापा मगरलाई ,’तपाईंको हिसाबकिताब हुन्छ के ।’ भनेको भिडियो अहिले सामाजिक संजालमा भाइरल नै बनेको छ ।
सरकार आफ्नो पक्षको बन्ने बित्तिकै कांग्रेसका सांसदको दादागिरी बढेको भन्दै धेरैले आलोचना समेत गरिरहेका छन् । सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘निषेधाज्ञाको समयमा आफैँ भीड गरेर हिँड्ने अनि ड्युटीमा रहेका प्रहरी थर्काउने यो कस्तो हर्कत हो मान्य ज्यु ?’ भनी प्रश्न गरेका छन् । सांसद श्रेष्ठसहित एक हुल मानिस शनिबार नवनिर्वाचित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेट्न मुख्यमन्त्री कार्यालय जाँदै थिए ।
सोही क्रममा इन्स्पेक्टर थापा मगरको टोलीले निषेधाज्ञामा भिड गरेर हिँड्न नमिल्ने, सांसद बाहेक अन्यलाई अत्यावश्यक काम बाहेक हिँडडुलमा रोक लगाइएकाले हिँड्न नमिल्ने भन्दै रोकेको थियो । इन्स्पेक्टर थापा मगरले सांसदसहितको टोलीलाई रोकेपछि सांसद श्रेष्ठले प्रहरीलाई धम्की दिएका हुन् ।
उनले हिसाबकिताब हुन्छ भनेपछि इन्स्पेक्टर जवाफ दिन्छन्, ‘हुन्छ हुन्छ, श्याम थापा मगर है, बैदाममा कार्यरत छु।’ त्यसपछि इन्सपेक्टरलाई सांसद श्रेष्ठले भन्छन्, ‘फुर्ती नछाटम्।’ ‘फुर्ती छाटेको होइन सर, तपाईंले हिसाबकिताब भन्नुभयो नि,’ छातीमा टाँसिएको आफ्नो नेमप्लेट देखाउँदै इन्स्पेक्टर भन्छन्, ‘श्याम थापा मगर है।’
श्रेष्ठ नेपाली कांग्रेसका समानुपातिक सांसद हुन् । नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको मन्त्रिपरिषदमा उनलाई पनि मन्त्री बनाउने तयारी छ । गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका उपनेता रहेका ४७ वर्षीय श्रेष्ठ स्याङजा भीरकोट नगरपालिका -१ का स्थायी वासिन्दा हुन् । समानुपातिक कोटाबाट गण्डकी प्रदेश सभामा छिरेका उनी वालिङ बहुमुखी क्याम्पसमा नेविसघंको इकाई सभापति, जिल्ला उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय सदस्य, नेपाली कांग्रेसको महासमिति सदस्य समेत हुन् ।