किन चुच्चे नक्सा छोपेर टेलिभिजनलाई अन्तर्वार्ता दिए डा. भट्टराई ?

admin

काठमाडौं, ३१ जेठ : जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई देशमा विदेशी हस्तक्षेप बढेकोमा चिन्तित छन् । बढ्दो हस्तक्षेपले ठूलै षड्यन्त्रको तानाबाना बुनिरहेको उनको ठहर छ । बढ्दो विदेशी हस्तक्षेपका कारण चिन्तित उनै बाबुरामले यही प्रकरणबारे एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा भने नेपालको नक्साको चुच्चोतर्फको भाग नै छोपेको पाइएको छ ।

पछिल्ला केही सातायता उनी सामाजिक सञ्जाल होस् वा टेलिभिजन, जतासुकै यो विषय उठाइरहेका हुन्छन् । यही निष्कर्षका साथ २०७८ जेठ २९ गते शनिबार ५ पूर्वप्रधानमन्त्रीबाट विज्ञप्ति नै आयो । जसमा बाबुरामको अलि बढी नै अग्रसरता देखिन्छ । २०७८ जेठ ३० गते गते कान्तिपुर टेलिभिजनसँग अनलाइनमार्फत आफ्नै निवासबाट संवादमा जोडिएका डा. भट्टराईले तौलियाले नेपालको नक्साको चुच्चोतर्फको भाग छोपेका हुन् ।

पृष्ठभूमिमा रहेको नक्साको अन्य भाग भने देखाइएको छ । भट्टराईको अन्तर्वार्ताको यस्तो दृश्य देखिएपछि धेरैले यसमाथि प्रश्न उठाएका छन् । नयाँ नक्सा जारीपछि सरकारले पूर्वप्रधानमन्त्रीलगायतलाई उपहार दिएको थियो । भट्टराईले नक्सालाई नियतवश छोपेका हुन् या संयोग मात्र हो ? खुलेको छैन ।

सामाजिक सञ्जालमा यसबारे प्रश्न उठाइए पनि उनले जवाफ दिएका छैनन् । वाह्य हस्तक्षेपले चिन्तित बाबुरामले विगतमा प्रोटोकल मिचेर भारतलगायत राष्ट्रका मन्त्री, नेता, राजदूतलगायतसँग गरेको भेटवार्ताबारे पनि अहिले उत्तिकै प्रश्न उठेको छ । यसबारे जवाफदेही हुन बाबुरामले आवश्यक ठानेका छैनन् ।

प्रतिक्रिया