सरकारको प्रतिबद्धता पूरा हुन कठिन ?

admin

काठमाडौं, ३१ जेठ : सरकारले आगामी मंसिरसम्म कोरोना संक्रमण रोकथामको खोप लगाउन योग्य सबै जनसंख्यालाई खोप लगाउने प्रतिबद्धता जनाएको थियो तर अहिलेसम्मको प्रगति हेर्दा सरकारको प्रतिबद्धता पूरा हुन कठिन देखिएको छ । खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका देशले खोप उपलब्ध गराउने सुनिश्चितता नजनाउँदा खोप अभियान अपेक्षा गरेअनुसार अघि बढ्न नसकेको हो । 

साथै खोप ल्याउन सरकारले आफ्ना संयन्त्रको समेत सशक्त परिचालन गर्न सकिरहेको देखिँदैन । कोरोना संक्रमण रोकथामको प्रभावकारी उपाय मानिएको कोरोनाविरुद्ध खोप अभियान अपेक्षित रूपमा अघि बढ्न सकेको छैन ।

सरकारले राज्यसंयन्त्रका सबै अंगलाई कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि समन्वयत्मक र आक्रामक रूपमा परिचालन गर्न नसक्दा कोभिड नियन्त्रणमा अपेक्षित प्रगतिसमेत हुन सकेको छैन । उता कोभिड नियन्त्रणमा प्रभावकारी मानिएको खोप लगाउने अभियानलाई समेत सरकारले व्यापक बनाउन सकेको छैन ।

जसका कारण खोपको आशा गर्दै बसिरहेका आमनागरिक समयमै खोप नपाउने चिन्ताले सताउन थालेका छन् । खोप लगाउन योग्य २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनामध्ये हालसम्म २३ लाख ८३ हजारले मात्रै खोप लगाउने अवसर पाएका छन् । बाँकी १ करोड ९३ लाख ७३ हजार ७ सय ६३ जना खोपको प्रतीक्षामा छन् ।

प्रतिक्रिया