उपत्यकासहित १७ जिल्लामा आउँदो ७ गतेसम्म निषेधाज्ञा

admin

काठमाडौं, १ असार : काठमाडौं उपत्यकासहित देशका ७० वटा जिल्लामा निषेधाज्ञा थप भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरसहित १७ वटा जिल्लामा जारी निषेधाज्ञा आउँदो ७ गतेसम्म लम्बिएको छ । अन्य जिल्लामा भने अवस्था हेरेर निषेधाज्ञा लम्ब्याइएको छ ।

गृह मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुर, बाग्लुङ, डडेल्धुरा, उदयपुर, कालीकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, पूर्वी नवलपरासी, तनहुँ, बारा, इलाम, अछाम, पाँचथर र मुस्ताङमा आउँदो ७ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको हो ।

यी १७ सहित सबैजसो जिल्लामा जनजीवनलाई केही खुकुलो बनाउँदै निषेधाज्ञा थपिएको छ । काठमाडौंमा मंगलबारदेखि तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खोल्न पाइने छ । औषधि, तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना पसल, डिपार्टमेन्टल (ग्रोसरी) बिहान ११ बजेसम्म खोल्न पाइने छ ।

यही समयमा पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि खोल्न पाइनेछ । यस्तै, दिउँसो ४ बजेपछि निर्माण सामग्रीका हार्डवेयर पसल पनि खोल्न पाइने छ । कृषि, मल, बिउ, कृषि औजारका पसल खोल्न पनि अनुमति दिइएको छ । अहिले खोटाङ र मनाङबाहेकका जिल्लामा निषेधाज्ञा छ ।

निषेधाज्ञा खुकुलो बनाउँदै लगिए पनि स्वास्थ्य मापदण्डलाई भने अझै पूर्णरूपमा पालना गर्न भने छोड्न नहुने डाक्टरहरूले बताउँदै आएका छन् । कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जिल्लामा निषेधाज्ञा लगाइँदै आएको छ । कोरोना रोकथामका लागि अवस्था हेरेर निषेधाज्ञा लगाउने अधिकार सरकारले स्थानीय प्रशासनलाई नै दिएको छ ।

प्रतिक्रिया