मेलम्चीमा भिषण बाढी-पहिरोः आसपासका बस्ती बगायो

admin

काठमाडौं, १ असार : मेलम्चीमा आएको भिषण बाढी र पहिरोले आसपासका बस्तिहरु बगाएको छ । रातिको समय र विद्यूत सेवा पनि अवरुद्ध भएकाले क्षतिको आँकलन हुन सकेको छैन । आज बेलुका साढे ६ बजे मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटरमाथि हेलम्बु १ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको थियो ।

बाढी र पहिरोले हेलम्बुको तिम्बु बजार सिंगै बगाएको छ । यसैगरी चनौते भन्ने बजार पनि डुबानमा परेको छ । कम्तिमा ७ जना स्थानीवासी वेपत्ता भएका छन् । मेलम्ची आयोजनाको सुरक्षार्थ रहेको सशस्त्र प्रहरी र चिनीयाको क्याम्प पनि डुबानमा परेका छन् । इलाका प्रहरी कार्यालय हेलम्बुमा पनि पानी पसेको छ ।

नदी छेउछाउमा रहेका टहरा र घरहरु सबै बगाएको सिन्धुपाल्चोकका पत्रकार दिनेश थापाले सम्पर्कमा आएका स्थानीयवासीलाई उद्वृत गर्दै बताए । रातिको समय र बाढी प्रभावित क्षेत्रमा विद्युत सेवा पनि अवरुद्ध भएकाले उद्दार कार्य सम्भव भएको छैन ।

‘नदी छेउछाउमा रहेका टहरा र घरहरु सबै बगाएको र मानिसहरु भागदौड गर्दै सुरक्षित स्थानमा गएका छन्,’ उनले भने । कही पक्की पुलहरु पनि बाढीले बगाएको छ ।

उज्यालो नभइकन केही गर्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन् । परीक्षणक्रममा रहेको मेलम्ची आयोजनाको सुरुङको पानी आजै खोलामा छोडिएको थियो । पहिरोले मेलम्चीको आयोजनाको सुरुङमा क्षति पुगे-नपुगेको पनि एकिन भएको छैन ।

प्रतिक्रिया