विवाद मिलाउन एमाले नेताहरू सक्रिय, समाधान नजिक पुगेको दावी

admin

काठमाडौं, ५ असार : नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुबीच आज पनि छलफल भएको छ । संवाद सकारात्मक र मिलनविन्दु नजिक पुगेको भएपनि निष्कर्षमा पुग्न बाँकी रहेको बैठकमा सहभागी नेताहरुले बताए ।

एमाले भित्रको विवादमा दोस्रो पुस्ताका नेताहरुबीच मोटामोटी सहमतिको विन्दु फेला परेमा शीर्ष नेताहरुलाई संवादका लागि पहल गर्ने तयारी नेताहरुको छ । तर दोस्रो तहमै वार्ता अझै सार्थक रुप लिइनसकेकाले सहमतिको प्रयास जारी रहेको बताइएको छ । नेताहरुबीच हिजो विहिबार पनि लामो छलफल भएको थियो । आज शुक्रबार पनि दुई घण्टा बढी समय छलफल भएको छ ।

बैठक सहभागी स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बैठक नियमित र निरन्तर भएपनि निष्कर्षमा पुग्न बाँकी रहेको बताए । “दुवै पक्षका नेताहरुको आफ्नो कुरा राख्ने र मिलनविन्दु खोज्ने प्रयास जारी छ, जति सक्दो छिटो निष्कर्षमा पुग्ने प्रयासमा हामी छौं” उनले भने । मिलन विन्दु नभेटिएसम्म बैठक जारी राख्ने कुरामा दुवै पक्षका नेताहरुको एक मत रहेको उनले बताए ।

अध्यक्ष केपी शर्मा ओलीले आफू दुई पार्टी (एमाले र माओवादी केन्द्र) एकताको मितिभन्दा पूर्वअवस्था २०७५ जेठ २ अघिको अवस्थाबाट छलफल गर्न तयार रहेको बताउनु भएपछि सोही अवस्थाबाट पार्टीको छलफल अघि बढाउने तर माओवादी केन्द्र त्याग गरी एमालेमा आएका नेताहरुको सम्बोधनको कार्यनीतिबारे गृहकार्य भइरहेको नेताहरुको भनाई छ ।

त्यस्तै, नेता माधवकुमार नेपालले जेठ २ को अवस्थाबाट अघि बढ्न अध्यक्ष ओली तयार भएमा अन्य विषयमा छलफल गर्न तयार हुने बताएका थिए । अध्यक्ष ओलीले त्यस अवस्थाबाट छलफल गर्न आफू तयार रहेको तर सर्वोच्च अदालतमा काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा पेश गरिएको हस्ताक्षर फिर्ताको माग उनको छ ।

नेता नेपाल पक्षले सो हस्ताक्षर फिर्ता लिने उपयुक्त वातावरणको खोजी गरिरहेको र त्यही विषयको निराकरण गर्न दोस्रो पुस्ताका नेताहरु सक्रिय छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया