काठमाडौंमा अब बारअनुसार पसल खोल्न पाइने, कुन दिन कुन पसल खुल्छन्?

admin

काठमाडौं, ६ असार : काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ। अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ। निजी सवारीलाई जोर-बिजोरअनुसार चल्न दिइने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार ट्याक्सीहरूलाई पनि जोर-बिजोर लागू गरेर चलाउन दिइनेछ। ‘आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने निर्णय भएको छ,’ अधिकारीले भने,‘सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ।’

खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ। रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्। निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने अधिकारीले जानकारी दिए।

शनिबार अत्यावश्यकबाहेक अरू पसलहरू बन्द गर्नु पर्नेछ। सरकारी कार्यालय आलो-पालो गरी खुला गर्नुपर्ने निर्णय भएको सहायक प्रजिअ अधिकारीले जानकारी दिए।

प्रतिक्रिया