प्रचण्ड र दीपक मनाङेबीचको भेटबारे चर्चा

admin

काठमाडौं, ६ असार : गण्डकी प्रदेशका स्वतन्त्र सांसद एवं विनाविभागीय मन्त्री दीपक मनाङे(राजीव गुरुङ)ले आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट भएको तस्विरले चर्चा पाएको छ ।

आइतबार प्रचण्डलाई भेट्न मनाङे अर्जेन्टिनाको जर्सी लगाएर खुमलटारस्थित प्रचण्ड निवासमा पुगेपछि खिचिएको तस्विरले सामाजिक संजालमा चर्चा पाइरहेको हो । प्रचण्ड, छोरी गंगा र मनाङे साथै प्रचण्ड र मनाङेको छुट्टाछुट्टै तस्विर सामाजिक संजालतिर पोष्ट भइरहेको छ । भेटलाई लिएर विभिन्न टिकाटिप्पणीहरु भइरहेको छ ।

मनाङेले अध्यक्ष प्रचण्डसँग भेटेको तस्विर सार्वजनिक गर्दै पछिल्लो राजनीतिक घटनाक्रमबारे बृहद् छलफल भएको बताएका छन् । उक्त तस्विरलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजालमा ‘नो कमेन्ट : राजनीतिक रेस्क्यूकर्तालाई आफ्नो निवासमा स्वागत गर्न पाउँदा खुशी नहुने त ? दिपक छन् र त खासमा हामी छौं !’ लेखेका छन् ।

कतिपयले गण्डकी प्रदेशमा शक्तिशाली मन्त्रालयको बार्गेनिङ गर्दै आएका मनाङेले त्यसैका लागि भेटघाट गरेका हुन कि भन्ने पनि आशंका गरेका छन् । तर मनाङेले भेटबारे पुष्टि गर्दै समसामयिक राजनीतिक घटनाक्रम र गण्डकी प्रदेशको सत्तारुढ गठबन्धनको विषयमा छलफल भएको संचारमाध्यमहरुलाई बताएका छन् ।

गण्डकीमा एमालेबाट युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी पाएका उनले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको साथ छाडेर कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन सघाएका थिए ।

प्रतिक्रिया