झापा आन्दोलनका योद्धा जीवन मगरको निधन

admin

काठमाडौं, ८ असार : नेपालको राजनीतिक इतिहासमा चर्चित झापा आन्दोलनका एक कार्यकर्ता जीवन मगरको ६३ वर्षको उमेरमा निधन भएको छ । गएको बिहीबार घरको शौचालयमा लडेर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा (हिजो) सोमबार निधन भएको हो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मस्तिष्कमा गम्भीर चोट लागेको थियो । झापा, गरामनी घर भएका उनी पछिल्लो समय पत्रकारितामा संलग्न थिए । जीवन मगर झापा आन्दोलनका क्रममा २०२९ सालमा पक्राउ परेका थिए । त्यतिबेला उनको उमेर १६ वर्षभन्दा कम भएकाले १० वर्षको जेल सजाय तोकिएको थियो ।

नक्खु जेलबाट सुरुङ खनेर सीपी मैनालीसहित निस्कने १५ जनामा उनी पनि थिए । विद्यार्थीकालमै क्रियाशील राजनीतिक आन्दोलनमा लागेका मगरलाई झापा आन्दोलनका अगुवाहरुले ‘झापा सङ्घर्षका बाल सिपाही’ पनि भन्ने गर्छन् । २०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि उनी राजनीति छोडेर पत्रकारितामा लागेका थिए । मगरका श्रीमती र दुई छोरी छन् ।

प्रतिक्रिया