निषेधाज्ञा उल्लंघन गर्ने २४ सय बढी सवारीसाधन नियन्त्रणमा

admin

काठमाडौँ, असार ९ : विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ४ सय ४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तीमध्ये ६ सय १६ वटा गाडी र १ हजार ७ सय ८८ वटा मोटरसाइकल रहेका छन्। नियन्त्रणमा लिएका सवारीसाधनहरूलाई आवश्यक सोधपुछपश्चात् छोडिने गरिएको छ।

साथै नयाँ भेरियन्टसहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ सय ८९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ। कार्यक्रमअन्तर्गत हालसम्म जम्मा ४ लाख ५८ हजार ३ सय ७९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १ सय ८६ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा १८ हजार ६ सय रुपैयाँ जरिवाना गरिएको छ। सो क्रममा २ हजार ३ सय १४ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ। साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ६३ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार ८ सय ४१ जनालाई सचेत गराइएको छ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालासँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिव्रता दिएको छ।

प्रतिक्रिया