प्रचण्डले भने अहिलेको राष्ट्रपति भन्दा त बरु राजाकै शान थियो, अहिले त शान पनि छैन मान पनि छैन

admin

काठमाडौँ, असार १० :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्या देवी भण्डारीले राष्ट्रपतिको भूमिका राम्रोसँग निभाउन नसकेको बताएका छन्। प्रचण्डले राष्ट्रपतिको भूमिका हेर्दा राष्ट्रपतिको संस्था भन्दा राजसंस्था हुँदा नै मान र सान भएको बताएका हुन्।

सम्पादकहरुसंगको अन्तरक्रियामा बोल्दै प्रचण्डले भने, ‘राष्ट्रपति सबैको अभिभावक भनेको। संविधानको रक्षक मानेर। अहिले राष्ट्रपति भन्ने संस्था त यति अब१ के भन्नेरु यो भन्दा त राजा हुँदा सान त थियो। अहिले त सान पनि छैन मान पनि छैन इज्जत पनि छैन। हामीले बनाएको संस्था हो नि राष्ट्रपति त।’

नेपालको भूराजनीतिक जटिलताका कारण यसको आफ्नै समस्या भएपनि राष्ट्रको स्वतन्त्रता र सार्वभौमसत्ता रक्षा गठबन्धनको साझा एजेण्डा रहेको बताए। प्रधानमन्त्री केपी ओलीले दक्षिणपन्थी शक्तिसंग मिलेर वामपन्थी सिध्याउन लागेको आरोप लगाएको भन्दै प्रचण्डले प्रतिवाद गरे।

‘कांग्रेस संविधान र लोकतन्त्र बचाउन हिडेको छ। केपी ओली संविधान र लोकतन्त्र सिध्याउन हिड्नुभएको छ। कांग्रेसले ओलीजीलाई विदेशीको टाङमुनि छिरेको आरोप लगाएको छ। ओलीजी विदेशी दलालको टाङमुनि नै हुनुहुन्छ। त्यसैले कांग्रेस दक्षिणपन्थी होइन, ओलीजी वामपन्थी होइन’, उनले भने।

विपक्षी दलहरुको गठबन्धन दीर्घकालीन हुनेमा शंका नगर्न आग्रह गरेका छन्। दाहालले राजनीतिक र सैद्धान्तिक धरातलमा उभिएको गठबन्धन भएकाले लामो समयसम्म सहकार्य हुने बताए।

संविधान, लोकतन्त्र, राष्ट्रियता र जनताको पक्षमा उभिन गठबन्धनमा रहेका सबै दलबीच न्यूनतम सहमति बनेको भन्दै अध्यक्ष दाहालले सरकार बनाउन वा एउटा निर्वाचन जित्नका लागि मात्रै गठबन्धन नगरिएको स्पष्ट पारे। ‘एउटा चुनाव जित्न वा ओली हटाउनका लागि मात्रै नभएर दीर्घकालीन रुपमा संविधान, लोकतन्त्र र राष्ट्रियता जोगाउन गठबन्धन निरन्तर रहन्छ’, प्रचण्डले भने।

गठबन्धनमा रहेका दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चामा आन्तरिक राजनीतिक समस्या नरहेको भन्दै प्रचण्डले विद्रोहको झण्डा बोक्ने एमालेका माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवका समस्या पनि गठबन्धनको साझा हुने बताए।

‘कांग्रेस, जनमोर्चा र हामीमा समस्या छैन। माधवजी र उपेन्द्रजीहरुलाई परेको अप्ठ्याराहरुमा हामी संगै छौं। त्यसलाई गठबन्धनले साझा रुपमा लिन्छ’, प्रचण्डले भने।

प्रतिक्रिया