‘अभियन्ता’ तह लाउन टोली बनाउँदै एमाले

admin

काठमाडौं, ११ असार : ‘सामाजिक अभियन्ता’ का नाममा सरकार या पार्टीनिकट नेता, कार्यकर्तासहित सार्वजनिक सरोकारवाला निकाय एवं त्यहाँका पदाधिकारीमाथि नचाहिँदो हस्तक्षेप गर्ने, र हतोत्साही गराउनेहरुलाई प्रधानमन्त्री केपी ओलीनिकट युवा संघले ठाउँको ठाउँ ठेगान लगाउने भएको छ ।

यसको शुरुआत आइतबार महानगरीय प्रहरी प्रभाग, टेकूअगाडि ज्वाला (टीका) संग्रौलाका केटा साथी हिमाललगायतमाथि भौतिक आक्रमणमार्फत भैसकेको छ भने युवासंघले यही प्रयोजनका लागि महिलासहितको छुट्टै फोर्स बनाउने तयारीसमेत गरिरहेको बुझिएको छ ।

माओवादी जगजगी चलेको बेला आफूविरुध्द लाग्नेलाई वाइसियलले त्यसैगरी कारवाही गथ्र्यो भने त्यसैको सिको टिप्दै एमालेले पनि महेश बस्नेतको नेतृत्वमा युथफोर्स बनाएको हो । वाइसियलकै फर्मुलाअनुसार बालुवाटारनिकट युवासंघले अहिले सरकारको प्रतिरक्षा गर्नुका साथै सामाजिक सञ्जालको आडमा हिरोइज्म देखाउने तत्वहरुसँग भिड्ने योजना बनाएको हो ।

‘सामाजिक अभियन्ताहरु’ बाटै त्यसको शुरुवात गर्ने तयारी छ । यसनिम्ति महिलाको पनि बेग्लै दस्ता बनाउनेबारे छलफल चलिरहेको युवासंघका एक नेताले बताए । ‘अभियन्ताका नाममा अराजकता निम्त्याउनेहरुले अब क्रमशः कुटाइ खान्छन् । लेडिज फोर्स बनाउने कुरा पनि हुँदैछ । खुश्बु घिमिरेले जस्तो कुटाइ अब अरुले खानुपर्ने छैन’, ती नेताले भने ।

जेठ १४ गते गौरीघाटमा सामाजिक अभियन्ता भनेर चिनिएकी ज्वाला संग्रौला र उनको समूहले आफ्नो संगठनकी केन्द्रीय सदस्य खुश्बु घिमिरेलाई हातपात गरेपछि आगो भएको युवासंघले अभियन्ताहरुलाई नछोड्ने नीति बनाएको हो । खुश्बुको कुटाइको भर्पाइ गराउन युवासंघले अस्ति प्रहरीकै सामु ज्वालाका ‘श्रीमान’ हिमाल उपाध्यायहरुलाई भक्कुमार गोदेको छ ।

गौशाला चौकीमा जेठ १४ गते संग्रौला समूहबाट कुटिएकी खुश्बुले दिएको जाहेरीमा उल्लेखित मूकदर्शक प्रहरीहरुको समेत विवरण सच्याउन मुद्दा शाखाले दबाब दिएपछि आइतवार युवासंघको टोली दलबलसहित महानगरीय प्रहरी परिसर टेकु पुगेको थियो । ज्वालाको पक्षमा भाषण गर्न पुगेका अरु दुई अभियन्ता पुण्य गौतम र हेमराज थापा पनि त्यहिँ थिए ।

अभियन्ता-अभियन्ता एक हुनुपर्छ भन्दै पुण्यले भाषण ठोकिरहेकै बेला छेउछाउमा छरिएर रहेका युवासंघका कार्यकर्ताले हिमालमाथि प्रहार गरेका हुन् । ज्वालासँंग लिभिङ टुगेदरमा रहेका हिमाललाई युवासंघको टोलीले साँझ ५ बजेतिर परिसरको गेटमै भक्कुमार गोदेको घटनाका एक प्रत्यक्षदर्शीले बताए । उनका अनुसार परिसर गेटैमा हिमालले कुटाइ खाएपछि पुण्य र थापा त्यहाँबाट बाइक चढेर फुत्किएका थिए ।

युवासंघ कार्यकर्तासमेत रहेका प्रत्यक्षदर्शीका अनुसार खुश्बु एक्लै जाँदा प्रहरीले अनावश्यक दबाब दिएपछि ३०र३५ जनाको टोली नै टेकु पुगेको हो । उनीहरु पुग्दा ज्वाला प्रहरी कार्यालयभित्र थिइन् भने बाहिर पुण्य गौतमहरु बसिरहेका थिए । ज्वालालाई जोगाउने पुण्यको भाषणले आक्रोशित भएका युवासंघका कार्यकर्ताले एकाएक हिमाललाई कुटेको उनले बताए ।

हिमालसहित २-३ जनालाई कुट्नुको कारण खोल्दै उनले भने, ‘उसले खुश्बुलाई आमाचकारी मुख छाडेको रहेछ, त्यसकारण साथीहरु आक्रोशित भएका हुन् । अर्को चैं केटी मान्छेलाई छुन मिलेन, त्यसैले म ज्वालाको श्रीमान हुँ भन्नेले भेट्यो । अब अरुले पनि भेट्छन् । खुश्बुहरुको सुरक्षाका लागि हामी अब महिला फोर्स पनि बनाउँदैछौँ ।’ यसअघि कर्णालीमा अर्का अभियन्ता भनिने ज्ञानबहादुर शाहीलाई पनि युवासंघकै कार्यकर्ताले कुटेको चर्चा थियो । – जनआस्थाबाट साभार

प्रतिक्रिया