हल्ला नगरि छिट्टै खोप ल्याएर देखाउँछौँ, बाढी-पहिरो प्रभावितलाई प्राथमिकता दिन्छौँ : मन्त्री श्रेष्ठ

राष्ट्रिय समाचार समिति

काठमाडौं, ११ असार : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढी र पहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् ।

उनले चाँडै नै कोभिड-१९ विरुद्धको खोप ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गरिने बताए । कोभिड-१९ विरुद्धको खोपका बारेमा धेरै अब हल्ला होइन, काम गरेर देखाउँछौँ, उनले भने, हामी कुराभन्दा काममा विश्वास गर्दछौँ, त्यसैले हल्ला नगरिकन छिट्टै नै खोप ल्याएर चमत्कारी देखाउने छौँ । उनले खोप ल्याउनका लागि विभिन्न देशसँग छलफल भइरहेको समेत बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका मन्त्री श्रेष्ठले सङ्घ, प्रदेश र पालिकाको समन्वयबाट मात्रै कोरोना भाइरस नियन्त्रण गर्न सकिने भनाइ राखे । उनले कोभिड-१९ को तेस्रो लहरका लागि अहिलेदेखि नै सरकारले तयारी थालेको जानकारी दिए । उनले नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता रहेको भन्दै कोभिड-१९ नियन्त्रण गर्न सके अरू क्षेत्रलाई चलायमान गराउने सकिने धारणा राखे ।

यस्तै मन्त्री श्रेष्ठले तेस्रो लहरबाट बालबालिकालाई बचाउनका लागि स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार बनाउन बैंकिङ एसोसिएशनले उपलब्ध गराउने ३३ करोड रुपैयाँको स्वीकृत गर्ने सैद्धान्तिक सहमतिमा निर्णय गरेका छन् । यस्तै उनले कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि ६ सय सघन उपचार कक्ष (आईसीयू), एक सय भेन्टिलेटर, एक हजार चार सय हाई-डिपेन्डेन्सी युनिट (एचडीयू), दुई सय ५० बालबालिकाका लागि शय्या थप गर्ने निर्णयमा समेत हस्ताक्षर गरेका छन् ।

पदबहालीका क्रममा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आउँदो असोज मसान्तभित्र ३३ प्रतिशतलाई खोप दिनसके संक्रमण नियन्त्रणको नजिकमा पुग्ने बताए । उनले एक करोड १० लाख डोज खोप किन्ने प्रक्रिया सुरु गरिएको जानकारी दिए । उनले पहिलो र दोस्रो लहरको कोभिड-१९ को नियन्त्रण गर्न स्वास्थ्यकर्मीको महत्त्वपूर्ण भूमिकाले गर्दा अन्य देशको तुलनामा राम्रो काम भएको बताए ।

मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ र डा. रोशन पोखरेललगायतले लक्षित जनसङ्ख्यालाई खोप नै उपलब्ध गराउन सकेमात्र संक्रमण कम गर्न सकिने धारणा राखेका थिए ।

प्रतिक्रिया