चीनबाट असारभित्रै खोप ल्याइँदै

admin

काठमाडौं, ११ असार : सरकारले चीनबाट कोभिडविरुद्धको ‘भेरोसेल’ खोप खरिद असारको अन्तिम सातासम्म ल्याउने तयारी सुरु गरेको छ । चीनसँग खोप खरिद गर्नका लागि सैद्धान्तिक सहमति भइसकेकाले असारको अन्तिम सातासम्ममा खोप ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोख्रेलले जानकारी दिए ।

‘खोप खरीदका लागि बजेट विनियोजन पनि भइसकेका छ,’ डा.पोख्रेल भन्छन्,’ कति डोज खोप खरिद गरेर ल्याउने सहमति भइसकेको छ । खोपको खरिद विषयमा फाइनल भइसकेको छ तर कति आउछ त्यसको फाइनल भएको छैन ।’ करिब २० लाख खोप ल्याउन सकिने उनको भनाइ छ ।

चीनबाट ल्याइएको खोपलाई ५५ वर्ष माथिकालाई लगाइने पोख्रेलले जानकारी दिए । मन्त्रीपरिषदबाट खोप खरिदका लागि निर्णय भए अनुसार खोप आयात प्रक्रिया अघि बढेको पोख्रेलको भनाइ छ । कोभ्याक्स अन्तर्गत खोप खरिद गर्न लागेको पनि उनले जानकारी दिए ।

सरकारले खोप खरिदका लागि विभिन्न नीजि व्यापारिक संस्थालाई ल्याउन आग्रह गरिए पनि ल्याउन नसकेको पोख्रेलले जनाएका छन् । चीनदेखि बाहेक अन्य मुलुकबाट सन् २०२१ सम्ममा नेपाल खोप खरिद गरेर गर्न पाउन नसक्ने अवस्था रहेको उनले जानकारी दिए ।

सरकारले चीनबाट खोप ल्याउनका लागि पहल गरिरहेको स्वास्थ्य मन्त्रालयकै विज्ञ सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले बताए । कति मात्रामा खोप ‍ल्याउने हो त्यसमा सहमति हुन नसकेको उनको भनाइ छ ।

‘सरकारले बजेट विनियोजन गरे पनि खोप उत्पादन कम्पनीलाई उपलब्ध गराइसकेको छैन,’ उप्रेती भन्छन,’ खोप खरिद प्रक्रिया भने अगाडि बढिसकेको छ ।’ नेपालमा असारभित्र खोप ल्याइने गरी प्रक्रियाअघि बढेको उनको दाबी छ । खोप खरिदका लागि दुवै पक्षबीच अन्तिम सहमति हुन मात्र बाँकी रहेको उप्रेतीले जानकारी दिए ।

पछिल्लो समय खोप खरिदमा ढिलाइ भएकाले पनि ठूलो समूह खोप लगाउनबाट वञ्चित रहेको उनले बताए । अब पनि खोप खरिदम ढिलाइ गरियो भने नेपालमा खोप नलगाउने मानिसहरूको समूह बढ्दै जाने उप्रेती बताउँछन् ।

हालसम्म नेपालमा कुल ४२ हजार ४८ हजार खोप आइसकेको छ । भारतले अनुदानस्वरुप १० लाख, खरिदमा १० लाख र नेपाली सेनालाई १ लाख कोभिसिल्ड खोप दिएको छ । नेपाललाई चीनले पहिलो चरणमा ८ लाख र दोस्रो चरणमा १० लाख खोप उपलब्ध गराइसकेको छ । हालसम्म ७५ वर्षमाथिका ज्येष्‍ठ नागरिक, फ्रन्टलाइनरका रुपमा स्वास्थयकर्मी, सञ्चारकर्मी, सफाइकर्मीले खोप लगाइसकेका छन् ।

केही हप्‍ताअघि चीनबाट अनुदानस्वरुप ल्याइएको १० लाख खोप ६० देखि ६४ वर्ष समूहका मानिसलाई पहिलो मात्रा लगाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोभिडविरुद्धको पहिलो र दोस्रो खोप लगाउनेको संख्या ३२ लाख ३१ हजार ८४९ पुगेको छ । जसमध्ये पहिलो मात्र लगाएको संख्या २५ लाख १९६ र दोस्रो मात्रा लगाएको ७ लाख ३१ हजार ६५३ छ ।

प्रतिक्रिया