कांग्रेस नेताको दौडधुपः विमलेन्द्र, शशांक र प्रकाशमान एकै ठाउँ !

admin

काठमाडौं, १२ असार : नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिँदै गर्दा सो पार्टीका तीन संस्थापक नेताका पुत्रहरूबीच निकटता पनि बढ्दै गएको छ । महाधिवेशनको सरगर्मीसँगै हालका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच महाधिवेशनमा अपनाउने रणनीति र योजनाका विषयमा गम्भीर छलफल र भेटघाटले तीव्रता पाउँदै गएको हो ।

निधि कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिका पुत्र हुन् भने कोइराला बीपी पुत्र हुन् । यस्तै, सिंह गणेशमान सिंहका पुत्र हुन् । शुक्रबार महामन्त्री कोइरालाको निवास महाराजगन्जमा महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा तीन नेताबीच छलफल भएको थियो । महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले आसन्न महाधिवेशन, सरकारका गतिविधि, आगामी निर्वाचनलगायतका विषयमा नेता त्रयबीचमा छलफल भएको जानकारी दिए ।

उनका अनुसार छलफलका क्रममा महाधिवेशनमा प्रतिस्पर्धा भए पनि आगामी महाधिवेशनबाट नेता कार्यकर्तामा कसरी एकताको सन्देश दिने र नेताहरूबीच सद्भाव कायम राख्ने भन्ने विषयमा छलफल भएको छ । यसअघि उपसभापति निधिको घरमा गत सोमबार नेता त्रयबीच छलफल भएको थियो । सो छलफलमा आफ्ना अग्रजको पार्टीप्रतिको योगदानलाई स्मरण गरेर सहमतिका साथ अघि बढ्ने सहमति भएको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया