देशका केही नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह

admin

काठमाडौं, १२ असार : मनसुनी वायु सक्रिय रहेकाले अहिले वाग्मतीसहित प्रदेश एक, प्रदेश दुई, गण्डकी र लुम्बिनीमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वाग्मती, प्रदेश एक-दुईमा बिहानदेखि नै लगातार पानी परेको हो ।

शनिबार दिउँसोपछि देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताएकी छिन् । आउँदो तीन दिनसम्म नै देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी समेत पर्ने सम्भावना रहेको छ ।

वाग्मती, मेलम्चीसहित केही नदीमा पानीको बहाव बढेको छ । खोलामा पानीको बहाव बढेपछि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ का गोपाल दुलालको घर बगाएको छ । यस्तै कोशी र यसका सहायक नदीमा पनि पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि परेको पानीले जमिन गलिसकेको र भूकम्पले क्षति पुर्‍याएको क्षेत्रमा सानो पानीले पनि असर गर्न सक्ने हुँदा विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । लगातार पानी परेकाले कोशीसहित केही नदीमा जुनसुकै बेला पानीको बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया