डा. भट्टराईद्वारा चेतावनी : उच्च स्तरको लोकतान्त्रिक गणतन्त्र हो, कुनै पनि रूपको राजतन्त्र हैन !

admin

काठमाडौं, १२ असार : जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजतन्त्रको विषयलाई लिएर सामाजिक सञ्जाल ट्वीटमार्फत् राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा)का अध्यक्ष कमल थापालाई चेतावनी दिएका छन् । अध्यक्ष थापाले राजतन्त्र फर्काउन पहल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेपछि डा. भट्टराईले थापालाई चेतावनी दिएका हुन् ।

(अस्ति) बिहीबार एक कार्यक्रममा दाहालले प्रसंगवश ‘अहिलेको राष्ट्रपतिभन्दा त बरु राजाकै अलिकति इज्जत र मान थियो’ भनेपछि राप्रपा अध्यक्ष थापाले हौसिदै दाहाललाई राजतन्त्र फर्काउन पहल गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष थापाले ट्वीट गर्दै भनेका छन्, ‘प्रचण्डजीले सही भन्नुभयो । हाम्रोजस्तो सामाजिक चेतना र भूराजनीतिक अवस्था भएको देशमा पार्टीगत आधारमा निर्वाचित राष्ट्रपतिबाट निष्पक्ष र गरिमामय भूमिका निर्वाह हुन सक्दैन । त्यसर्थ, देशको शान, मान र हितको रक्षार्थ संवैधानिक राजसंस्था कायम गरौँ । यो असल कामको पहल गर्नुहोस् ।’

सोही जवाफमा डा. भट्टराईले पनि ट्वीट गर्दै भनेका छन्, ‘जसले जुन सन्दर्भमा जे मनसायले भने पनि ‘राजामा शान, मान र इज्जत थियो’ भन्ने कुरा सत्य हैन र यो सुनेर इतिहासबट बिदा भइसकेको राजतन्त्रका हिमायहिमायतीहरू पनि हौसिन जरूरी छैन । गणतन्त्रको विकल्प अझै उच्च स्तरको लोकतान्त्रिक गणतन्त्र हो, कुनै पनि रूपको राजतन्त्र हैन । जनतामा भ्रम छर्ने काम नगरौँ ।’

प्रतिक्रिया