राजा महेन्द्रले झै ओलीले पनि संसदलाई प्रहार गरे : यादव

admin

 सप्तरी, १२ असार : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई प्रतिगमनतर्फ लैजान खोजेको भन्दै त्यसको सशक्त प्रतिकार आवश्यक रहेको बताएका छन् ।

शनिबार राजविराजमा गजेन्द्रनारायण सिंह अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

प्रधानमन्त्रीले संबिधान मिचेर काम गर्दै आएको, जनताका प्रतिनिधिको सर्बोच्च संस्था संसदलाई २ पटक भंग गरेका कारण उनी प्रतिगमनका मतियार साबित भएको बताउँदै यादवले उक्त कदमका बिरुद्ध पाँच दलीय गठबन्धन बनेको प्रष्ट्याए ।

‘संघीयता, गणतन्त्र र समाबेशितालाई समाप्त गरी देशलाई २०४७ तिर धकेल्ने काम भईरहेको छ,’नेता यादवले भने, ‘त्यसै कारण जनता बलियो हुने संसदलाई प्रधानमन्त्री रहनै नदिने उद्यममा लागेका छन् ।’ राजा महेन्द्र, ज्ञानेन्द्रले संसदलाई प्रहार गरे जस्तै त्यसको नयाँ संस्करणका रुपमा अहिले प्रधानमन्त्री ओली अघि बढेको उनको टिप्पणी थियो ।

राजा महेन्द्रले २०१७ सालमा जननिर्वाचित संसदलाई १८ महिनामै भंग गरेको, २०४६ पछि स्थापित भएको संसदलाई मौका पाउना साथ राजा ज्ञानेन्द्रले प्रहार गरेको उदाहरणका साथ पुर्व उपप्रधानमन्त्री समेत रहेका यादवले थपे, ‘अहिले सार्बभौम जनताको थलो त्यही संसदलाई ओलीले पटक पटक भंग गर्दै आएका छन् ।’

प्रधानमन्त्रीले संसद भंग गरी अध्यादेशका भरमा शासन गर्न उद्यत रहेबाट उनी प्रतिगमनका मतियार रहेको भन्ने प्रमाणित भएको उनको कथन थियो ।

प्रतिगमनको प्रयासलाई असफल नबनाएसम्म आफुहरुले बनाएको दलीय गठबन्धन कायमै रहने उनले बताए । ‘हामी प्रतिगमनलाई परास्त गर्न निरन्तर आन्दोलनमा रहने छौं ।’ नेता यादवले भने, ‘प्रधानमन्त्रीको प्रतिगमनकारी कदम पराजित नभएसम्म विश्राम लिने छैनौं ।’

संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने काम नै प्रतिगमनकारी कार्य रहेको जिकिरका साथ यादवले अहिले संघीयतालाई कमजोर पार्ने,संसदलाई समाप्त पार्ने काम त्यसकैलागि भईरहेको स्पष्ट पारे ।

कार्यक्रममा नौ थान अक्सिजन कन्सन्ट्रेटर, सत्तरी काटुर्न एन नाईन्टिन मास्क लगायतका सामग्री अस्पताललाई हस्तान्तरण गरिएको अस्पतलाका निमित्त मेडिकल सुपरिटेण्डेण्ट रञ्जितकुमार झाले जानकारी दिएका छन् ।

प्रतिक्रिया