अहिलेको लडाई प्रधानमन्त्री बन्न होइन, संविधान र लोकतन्त्रका लागि हो : प्रचण्ड

admin

काठमाडौं, १२ असार : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको लडाई प्रधानमन्त्री बन्नका लागी नभएर संविधान र लोकतन्त्र रक्षाका लागि भएको बताएका छन् ।

शनिबार बिपक्षी गठबन्धनले पत्रकारसँग गरेको अन्तर्क्रियामा प्रचण्डले गठबन्धनका नेताहरु कसैलाई पनि प्रधानमन्त्री बन्न हतारो नभएको र अहिलेको लडाई प्रधानमन्त्री बन्नलाई नभएको बताएका हुन् ।

प्रचण्डले अहिले संविधानमाथि निर्मम ढंगले प्रहार भइराखेको र देशलाई अराजकता, संविधानहिनताको भूमिरीमा हाल्ने दुष्प्रयास भइराखेको उल्लेख गरे । प्रचण्डले सर्वोच्च अदालतले लोकतान्त्रिक मूल्य–मान्यता र संविधानअनुसार फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको जिकिर गरे ।

प्रचण्डले आफूले सेटिङ गरेको नभई संविधान अनुसार नै देउवा प्रधानमन्त्री हुने बताए । प्रचण्डले ५ दलीय गठवन्धनले लोकतन्त्र, संविधानको रक्षा र जनतालाई विकास र समृद्धि दिन लडिरहने जिकिर गरे । प्रचण्डले गुठी विधेयकबारे देशव्यापी विरोध हुँदा ओली दमन गर्ने पक्षमा भएको र त्यसो गरे आफू सडकमा जाने चेतावनी दिएपछि विधेयक फिर्ता लिएको बताए

त्यस्तै कांग्रेस सभापति शेर बहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी केपी ओलीका कार्यकर्ताजस्तो बनेको आरोप लगाए । प्रधानमन्त्रीको दाबी गर्दै आफूले १४९ जना सांसदको हस्ताक्षर बुझाए पनि हस्ताक्षर सनाखत नगरेर राष्ट्रपतिले गल्ती गरेको उनले बताए। त्यस्तै उनले संविधानको व्याख्या गर्ने अन्तिम ठाउँ अदालत भएको भन्दै आफूहरूको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले ओली पक्षबाट आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको बताए । उनले विभिन्न प्रलोभन आएपनि कुनै पनि हालतमा गठबन्धनलाई धोका नदिने बताए । उनले सर्वोच्च अदालतको फैसलापछि कांग्रेस सभापति देउवा नै प्रधानमन्त्री बन्ने पनि बताए । आफूहरु एमालेको विद्रोही पक्ष भएको भन्दै नेपालले अहिलेको लडाइँ केपी ओली प्रवृत्तिविरुद्ध भएको जिकिर गरे ।

त्यस्तै जनता समाजवादी पार्टी नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ६ गते मार्ग प्रशस्त नभइ, मार्ग अवरुद्ध गरेको आरोप लगाए । अन्तर्क्रियामा विपक्षी गठबन्धनका अन्य नेताहरुको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया