सत्ता स्वार्थका लागि विपक्षीले चुनाव रोक्न खोजेका हुन् : बिजुक्छे

राष्ट्रिय समाचार समिति

काठमाडौं, १२ असार : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भागबण्डामा भाग लिने प्रतिपक्षी गठबन्धनसँग सरकारको विरोध गर्ने नैतिक अधिकार नभएको बताएका छन् ।

मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे शनिवार आफ्ना विचार सार्वजनिक गर्दै उनले सत्ताका लागि भागबण्डाको खेलमा लाग्ने प्रतिपक्षले सरकारको विरोध गर्नुको कुनै तुक नहुने बताए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले सत्ताका लागि राजनीतिक अस्थिरतालाई कायम राख्दै चुनावी बाटो समेत रोक्न खोजेको उनको तर्क थियो ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी अध्यक्ष केपी ओलीसँग मिल्नै नसक्ने भए नयाँ पार्टी बनाउन सुझाव समेत दिँदै नेमकिपाका अध्यक्ष बिजुक्छेले भने, ‘सत्ताका लागि भागबण्डामा लाग्नेले सरकारको विरोध गर्ने नैतिक अधिकार हुँदैन, सधै सरकारको विरोध गरेर अस्थिरता राख्नु हुँदैन, माधव नेपालले ओलीसँग नमिलेको हो भने अलग्गै पार्टी बनाउन कसले रोकेको छ ?’

देशलाई सधै राजनीतिक अस्थिरतामा राख्नुभन्दा चुनावमा जानु नै उत्तम विकल्प भएको भन्दै उनले संसारका विभिन्न देशमा पनि कोभिड–१९ बीच निर्वाचन भइरहेको भनाइ राखे ।

आफ्नै नेतृत्वमा सरकार गठन गरेर चुनाव गराउने स्वार्थमा अहिले दलहरू लागेको टिप्पणी गर्दै बिजुक्छेले भने, ‘राजनीतिक अस्थिरताको अन्त्य गर्ने उत्तम विकल्प चुनाव मात्रै हो, चुनाव यहाँ मात्र सम्भव छैन भन्नु ठीक होइन, आफैं सरकारमा बसेर चुनाव गराउने स्वार्थकै कारण अहिले दलहरूबीच झगडा भइरहेको छ, शासकहरू स्वच्छ मतिले बोलिरहेका छैनन् ।’

सर्वोच्च अदालतले २० जना मन्त्रीको नियुक्तिलाई बदर गर्नुको अर्थ पनि अब निर्वाचन हुन्छ भन्ने नै हो भन्दै उनले चुनावबाटै निकास खोज्नुपर्ने औंल्याए । बिजुक्छेले भने, ‘कम्युनिस्टहरूले पूँजीपति वर्गलाई कहिल्यै शासनमा ल्याउँदैनन् तर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधन नेपालले नेपाली कांग्रेसलाई वा शेरबहादुर देउवालाई अहिले आएर प्रगतिशील देख्नुको पछाडि केही रहस्य हुनुपर्छ ।’

प्रतिक्रिया