सहमति कार्यान्वयन नभएसम्म सपथ खान्न : गुरुङ

admin

काठमाडौं, १२ असार : गोरखा गण्डकी प्रदेश सरकारमा विनाविभागीय मन्त्रीहरुलाई आइतबार सपथ खुवाउने गरी जिम्मेवारी बाँडफाँटको टुङ्गो लगाएको छ।

शुक्रबार भएको निर्णयअनुसार नेपाली कांग्रेसबाट सरकारमा सहभागी कुमार खड्काले समाजिक विकास मन्त्रालय, माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनता समाजवादी पार्टीका हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्रालय दिने टुङ्गो लागेको थियो।

मन्त्री मनाङ्गेले भने गठबन्धन गर्ने समयमा भएको सहमति कार्यान्वयन नभएसम्म आफूले विभागीय मन्त्रीको सपथ नखाने बताएका छन्।

उनी भन्छन्,‘राजनीति वेइमानी हैन, कांग्रेस र माओवादीले गतिछाडा पारा देखायो। जसपालाई अर्थसहित दुई वटा मन्त्रालय, मलाई भौतिक मन्त्रालय दिने भनेर लिखित अलिखित सहमति गर्‍यो तर अहिले कार्यान्वयन गर्न आलटाल गरिरहेको छ। यसरी हुँदैन, सहमति कार्यान्वन नभएसम्म म सपथ खान्न।’

कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल संविधानको धारा १६८ उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएको आज २३ दिन बित्यो। तर पोखरेल नेतृत्वको गण्डकी प्रदेश सरकारले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेको छैन। गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटको सहमति जुट्न नसक्दा मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको हो।

प्रतिक्रिया