काठमाडौं, १३ असार : देशका केही ठाउँमा मौसम आंशिकदेखि पूर्ण बद्ली भएको छ । (आज) आइतबार दिउँसो देशभर बद्ली भइ कतै सामान्य र कतै ठूलो पानी पर्ने सम्भावना छ । आइतबार दिउँसो काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा मध्यम खालको वर्षा हुने मौसमविद् मन्जु बासीले बताइन् ।
प्रदेश एक, दुई र लुम्बिनी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको उनले बताइन् । आइतबार राति भने प्रदेश एक र वाग्मतीमा भने ठूलो पानी पर्ने सम्भावना रहेको छ । शनिबार र शुक्रबारको तुलनामा आइतबार पानी कम पर्ने मौसमविद् बासीको भनाइ छ । (पर्सि) मंगलबारदेखि भने फेरि मनसुन थप सक्रिय भएर ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
यसैबीच, यो हप्ता देशका धेरै ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ । प्रदेश-१ र २ तथा वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले बताइन् । हप्ताभरि नै यी प्रदेशहरुमा समान्यदेखि पूर्ण बद्ली हुनेछ भने हल्कादेखि ठूलो पानी पर्नेछ ।
बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बद्लीको सम्भावना छ । यी प्रदेशमा हप्ताको सुरु तथा मध्यमा थोरै ठाउँमा र अन्त्यतिर केही ठाउँमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी-हिमाली भूभागका केही ठाउँहरुमा हिउँ पर्ने पनि सम्भावना देखिएको छ ।