काठमाडौं, १४ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिद्धान्तको राजनीति भन्दा अवसरवादी स्वार्थको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । स्वर्गीय नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७०औँ जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अध्यक्ष दाहालले छेपारोले जस्तो गरी स्वार्थ र परिवेशअनुसार धारणा बदल्दै हिँडेको टिप्पणी गरेका हुन् ।
उनले लोकतान्त्रिक शासन प्रणालीविरुद्ध नै सशस्त्र युद्ध गरेर ठूलो मानवीय क्षति पुर्याएका दाहालले कहिले गणतन्त्र आफूले ल्याएको त कहिले गणतन्त्र भन्दा राजा नै राम्रो भन्दै हिँडेको बताए ।
उनले भने, ‘प्रचण्डले अस्ति राष्ट्रपति भन्दा त राजै राम्रो के-के भने क्यार.. मान्छेले छक्क माने । किन छक्क मान्ने छेपारोले रङ्ग एकछिनमा फेर्छ त । खैरो मुढामा गयो भने खैरो खैरो खालको रङ्ग बनाउँछ । अर्को हरियोमा गयो भने हरियो हरियो रङ्ग बनाउँछ । अलि कालो बोक्रो भएको ठाउँमा पुग्यो भने कालो–कालो बनाउँछ । छेपारोले रङ्ग फेर्छ त । कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्छ, कहिले यस्तो हुँदा पनि हाम्रा लोकतान्त्रिक छिमेकीहरू के हेरेर बसेका छन् ? किन हस्तक्षेप गर्दैनन् भन्छ । कहिले गणतन्त्र ल्याउने मै हुँ भन्छ । कहिले गणतन्त्र भन्दा त राजतन्त्रै राम्रो भन्न पुग्छ । कहिले विदेशबाट हतियार ल्याएर नेपाली जनताको नरसंहार गर्छ ।’
प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल ‘निलवर्ण सङ्घार’ कथाको पात्र जस्तो चरित्रको भएको दाबी गरे । दाहालको काम नै देशलाई बरबाद गर्ने भएको भन्दै उनले दाहाललाई पनि पृथकतावादीहरूलाई राजनीतिको मूल धारमा ल्याएजस्तै लोकतान्त्रिक मार्गलाई ल्याउन जरुरी रहेको बताए ।
यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रिय जनमोर्चाको भूमिकामाथि पनि तिखो टिप्पणी गरे । राष्ट्रिय जनमोर्चाले राजनीति र सिद्धान्तलाई नभइ स्वार्थ नीतिलाई केन्द्र भागमा राखेर काम गरेको दाबी गरे । उनले आफ्ना एक जना प्रतिनिधिलाई जसरी भए पनि मन्त्री बनाउने प्रयासमा कांग्रेसलाई समर्थन गरेको दाबी गरे ।
उनले पछिल्लो समय राजनीतिक दल र तीनका नेताले स्वार्थ केन्द्रित राजनीति गरेका कारण राजनीतिक सिद्धान्त, वर्गीय राजनीतिक, गन्तव्य र उद्देश्यका सवालहरू ओझेल पर्दै गएको उल्लेख गरे । प्रधानमन्त्रीले बौद्धिक जगतलाई क्षणिक आवेश र उत्तेजनामा नआउन आग्रह गरे । बुद्धिजीवीहरूलाई देश र जनताप्रति उत्तरदायी भएर आफ्ना अभिव्यक्ति दिन पनि उनले सुझाए ।