नेपालको अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्छ : मन्त्री पौडेल

admin

काठमाडौं, १४ असार : गृहमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने बताएका छन् । सोमबार अध्यागमन विभागले गरेको प्रणाली सिर्जित क्यू.आर. कोडसहित छपाइ गरिएको भिसाको शुभारम्भ कार्यक्रममा बोल्दै गृह मन्त्री पौडेलले नेपालको अध्यागमनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

उनले विदेशीको पहिलो आँखा अध्यागमनमै पर्ने उल्लेख गर्दै अध्यागमनको सुधार गर्नुपर्नेमा जोड दिए । अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका निम्ति कामको योजना बनाएर अघि बढ्नुपर्ने पनि उनले बताए । मन्त्री पौडेलले अध्यागमन प्रणालीलाई प्रभावकारी बनाउनका र यसको प्रतिष्ठालाई माथि उठाउनका निम्ति प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशनसमेत दिए ।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले क्यू.आर. कोडसहितको नेपाली कोडबाट विदेशी नागरिकले विश्वको जुनसुकै ठाउँबाट पनि भिसाको लागि आवेदन दिन सक्ने बताए । अध्यागमन विभागको यो सेवाबाट पर्यटकले नेपालमा सहज रूपमा भिसा प्राप्त गर्न सक्ने र पर्यटन क्षेत्रको समेत विकास हुने महानिर्देशक भट्टराईले बताए ।

उनले विदेशी नागरिकले विवरण नेपाली पोर्टमा राखिसकेपछि भिसामा चाहिने विवरण कन्भर्ट भएर भिसा स्टिकर छपाइ हुने र नयाँ भिसा स्टिकरमा प्रयोग भएको क्यू.आर. कोडले यात्रा गर्ने मानिसको गोप्य सूचना स्टोर गर्ने भएको हुनाले विश्वसनीय, भरपर्दो र अन्तर्राष्ट्रियस्तरमा तुलनायोग्य रहेको बताए । 

प्रतिक्रिया