भोलिदेखि मनसुन थप सक्रिय हुने, देशका धेरै ठाउँमा ठूलो वर्षा

admin

काठमाडौं, १५ असार : देशका धेरै ठाउँमा रातिदेखि पानी परेको छ । गएराति कास्की, तनहुँ र भैरहवामा सबैभन्दा ठूलो पानी परेको थियो । प्रदेश-१, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सबैभन्दा धेरै पोखरामा गएराति १ सय ३२ मिलीमिटर वर्षा भएको छ भने लमजुङको घोरेढुङ्गा र छिटीमा ८२ मिलीमिटरसम्म पानी परेको छ । यस्तै तनहुँ, भैरहवा विमानस्थललगायत आसपासका क्षेत्रमा ५० मिलीमिटरभन्दा धेरै पानी परेको छ । अहिले त्यस क्षेत्रमा पानी पर्न रोकिएको छ ।

तर, दिउँसोपछि फेरि पानी पर्ने प्रणाली सक्रिय हुन थालेकाले नदी तथा खोला आसपास क्षेत्रका मानिसहरु सजग हुनुपर्ने मौसमविद् निराजन सापकोटाले बताए । गएराति ठूलो पानी परेकोले मर्स्याङ्दी नदीको बहाव बढिरहेको छ । यसैबीच बुधबारदेखि मनसुन थप सक्रिय हुने भएको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेकाले बुधबारदेखि मौसम सक्रिय भइ प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि ठूलो वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

देशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने भएकाले पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको सम्भावनासमेत रहेको छ । नदी तथा खोलानालामा पानीको सतह बढ्ने र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले अलिअलि मात्र सक्रिय मनसुन बुधबारदेखि देशको पूर्वी तथा मध्य भू-भागहरूमा सक्रिय भएर वर्षा हुने सम्भावना देखिएको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए ।

बुधबारदेखि १९ गतेसम्म सप्तकोशीका सहायक नदीहरु तमोर, सुनकोशी, नारायणीका सहायक नदीहरु त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी लगायत वाग्मती, कन्काई, कमलामाई तथा प्रदेश-१, प्रदेश-२, वाग्मती र गण्डकी प्रदेशका मध्यपहाडी, चुरे तथा तराईका ससाना खोलाहरुमा आकस्मिक बहाव आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया