माफी माग्दै एम्बाप्पेले भने, ‘अर्को चुनौतीका लागि अझ बलियो हुनु छ’

admin

काठमाडौं, १५ असार : सोमबार राति युरो कप अन्तर्गत स्विट्जरल्यान्डसँगको खेलमा पेनाल्टीमा गोल गर्न नसकेका फ्रान्सका युवा खेलाडी किलियन एम्बाप्पले माफी मागेका छन् । सामाजिक सञ्जाल इन्स्टाग्रममा लेख्दै एम्बाप्पेले हारका लागि आफ्नो टोली र समर्थकसँग माफी मागेका हुन् ।

फ्रान्स र स्विट्जरल्यान्डबीचको खेलको ९० मिनेटसम्म दुवै टोली तीन-तीन गोलको अवस्थामा रहेपछि खेलको एक सय २० मिनेटसम्म लम्ब्याइएको थियो । थपिएको समयमा पनि दुवै टोलीबाट थप गोल नभएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो ।

पेनाल्टी शुटआउटमा स्विट्जरल्यान्डले पाँच वटै पटकको पेनाल्टीमा गोल गर्दा फ्रान्सका लागि किलियन एम्बाप्पेले प्रहार गरेको पाँचौँ पेनाल्टी स्विट्जरल्यान्डका कीपरले रोकेपछि फ्रान्स पाँच-चार गोल अन्तरले पराजित भएको थियो । जितसँगै स्विट्जरल्यान्ड क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

यस्तै एम्बाप्पेले इन्स्टाग्राममा लेखेका छन्, ‘पेनाल्टीमा चुकेकेमा म माफी चाहन्छु । म टिमलाई सहयोग गर्न चाहन्थेँ तर म चुकेँ । निदाउन गाह्रो हुनेछ तर दुर्भाग्यवश यो खेलको उतारचढावसँग म धेरै प्रेम गर्छु । मलाई थाहा छ समर्थकहरू निराश हुनुभएको छ तर तपाईँको समर्थन र हामीलाई गरेको विश्वासप्रति म धन्यवाद भन्न चाहन्छु । अर्को चुनौतीका लागि अझ बलियो हुने सबैभन्दा महत्त्वपूर्ण कुरा हो । स्विट्जरल्यान्डलाई बधाई र सफलताको कामना गर्दछु ।’

प्रतिक्रिया